मसुरीया (देउखुरी दाङ) । राप्ती गाउँपालिकामा निगरानी समूह तथा मेलमिलाप कर्ताहरूको बैठकले समाजमा देखा पर्ने विकृति विसङ्गति विरुद्ध आवाज उठाउँदै न्याय र शान्ति स्थापनाका लागि काम गर्दै जाने निर्णय गरेको छ ।
राप्ती गाउँपालिकाका ९ वटै वडाका निगरानी समूहका संयोजक तथा वडा नं १ र ४ का मेलमिलाप संयोजकहरूको सहभागिता भएको बैठकले यस आर्थिक वर्षमा समूहले गरेका कार्य प्रगतिको समीक्षा गर्दै न्याय र शान्ति स्थापनाका लागि थप काम गर्दै जाने प्रतिबद्धता जनाउनु भएको हो ।
राप्ती गाउँपालिका न्यायिक समिति संयोजक तथा उपाध्यक्ष जगदम्बा कुमारी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यतामा भएको बैठकमा न्यायिक समिति सदस्य तारा बहादुर डिसी र विद्याशरण चौधरीले समाजमा देखा परेका विकृति विसङ्गतिको अवस्था चित्रण गर्दै निगरानी समूह तथा मेलमिलाप कर्ताको जिम्मेवारी बारे जानकारी गराउनु भएको थियो ।
राप्ती गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको समन्वयमा बसेको बैठकमा वडा नं १ देखी ८ सम्मका निगरानी समूहका संयोजकहरू गोमाया के.सी, मेनुका शर्मा, शारदा भण्डारी, गौरा जैसी, कमला रेग्मी, गीता चौधरी, अशोदा चौधरी, सीता चौधरी तथा मेलमिलाप कर्ता हस्त बहादुर गुरुङ, तुलसा गिरी, मसुरीया प्रहरी प्रमुख कण र्बहादुर साही, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा संयोजक जीवन कुमारी जिसी, कल्पना खनालले यस आर्थिक वर्षमा समूहले गरेका कार्य प्रगति प्रस्तुत गर्नु भएको थियो ।
बैठकले वडा भेला मार्फत निगरानी समूहको पुनर्गठन गर्ने निर्णय गरिएको छ । पुनर्गठन गर्न बाकी रहेका वडा नं १, ५, ६, ७ र ९ मा आगामी भदौ १६, १७, १८,२० र २१ गते भेला गरी नयाँ समिति निर्माण गरिने निर्णय गरिएको छ । साथै निगरानी समुहलाई काममा सहजता ल्याउन संयोजकहरूलाई परिचय पत्र निर्माण गरिने समेत निर्णय गरिएको छ ।
राप्ती क्षेत्रमा निगरानी समूहहरूले समाजमा रहेका विभिन्न सामाजिक, कार्यक्रमहरूमा महिलाको सहभागिता सुनिश्चितताको लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, अन्धविश्वास, बाल विवाह, बहु विवाह जस्ता सामाजिक समस्याको पहिचान गरी सुधारका कार्यक्रमहरू सञ्चालन गर्ने, समाजमा हुने अन्याय, अत्याचार, विभिन्न घरेलु तथा महिला हिंसा विरुद्ध सामूहिक आवाज उठाउने, महिला तथा बालबालिकाको हक अधिकारको सुनिश्चितता गर्ने, विभिन्न सामाजिक, आर्थिक तथा जनसरोकारका विषयहरुका महिलाहरूलाई जागरूक गराउने, आफ्नो समुदायलाई वातावरण तथा बालमैत्री बनाउन पहल गर्ने लगायतका काम गर्दै आएका छन् ।
निगरानी समूहले न्यायिक समितिको क्षेत्राधिकारमा पर्ने विवादका प्रकृतिलाई समन्वय गरी न्यायिक समितिमा पुराउने र न्याय सम्पादनमा सहजता ल्याउने काम गर्दै आएको पाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।