काठमाडौँ । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली कुवेत हुँदै स्वदेश आइपुगेका छन् ।
आज बिहान जजिरा एयरको चार्टर विमानमार्फत कुवेत हुँदै १ सय २७ जना नेपाली काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज बिहान १० बजेर १६ मिनेटमा उक्त जहाज काठमाडौँ विमानस्थलमा आइपुगेका थिए ।
अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले उद्धार गरी कतारको दोहा पुर्याएको थियो । तीमध्ये १ सय २७ जना मङ्गलवार नेपाल आइपुगेका हुन् ।
उद्धार गरिएकालाई हाल सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने र प्रक्रिया पुर्याएर घर पठाइने छ । दोहामा रहेका अन्य नेपाली सुरक्षा गार्डलाई पनि क्रमशस् उद्धार गरेर ल्याउने तयारी रहेको बताइएको छ ।
त्यस्तै अफगानिस्तानको काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत फिर्ता ल्याउन सकिने भएको छ ।सोमबार इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी विदेश मन्त्रालयसँग समन्वय गर्दै अफगान पाक स्थल मार्गबाट नेपालीहरू स्वदेश फर्कन पाउने व्यवस्था मिलाइएको जनाएका हुन् ।
अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय विद्रोही तालिवानीले कब्जा गरेपछि त्यहाँ रहेका विदेशी धमाधम स्वदेश फर्किन थालेका छन् भने अप्ठ्यारामा परेका आफ्ना नागरिकलाई विभिन्न देशले उद्धार गरी स्वदेश फर्काइरहेका छन् । तालिवानहरुले सत्ता कब्जा गरेपछि हाल अफगानिस्तानबाट व्यावसायिक उडान अन्तर्राष्ट्रिय उडान अवरुद्ध छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।