युवा सञ्जालले साइकल दिएपछि भित्रैबाट मुस्कुराइन लाडली खातुन



जिल्ला युवा सञ्जाल धनुषा द्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर जनकपुरधाम वार्ड नम्बर ८ की लाडली खातुनको घरमै गएर साइकल हस्तान्तरण गरिएको छ ।

प्रदेश २ मा सञ्चालनमा रहेको मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान अन्तर्गत सरकारी स्कुलमा अध्ययनरत छात्राहरूलाई प्रदेश सरकारले साइकल दिँदै आएका छन् । आइतबार जनकपुरधाम स्थित रहेको जानकी माविमा कक्षा ८ पास गरेर ९ मा गएका छात्राहरूलाई साइकल दिइएको थियो तर एक जना छात्रालाई भने भारतीय रहेको भन्दै साइकल दिइएको थिएन ।

भारतको सितामढीबाट लामो समयदेखि उनको परिवार नेपालमै रहेर काम गर्दै आइरहेको छ । उनका पिता मोहम्मद आलमले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा अध्ययन गराउँदै आएका छन् । साइकल वितरण हुने भन्दै विद्यार्थीलाई अभिभावकको नागरिकता लिएर आउन विद्यालय व्यवस्थापनले भनेको थियो । सोही अनुसार भारतीय आधार कार्ड लिएर साइकल लिन उपस्थित भए पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई साइकल दिन नमिल्ने जनायो ।

जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख उपप्रमुख सहितको समेत उपस्थिति रहेको कार्यक्रममा एक जना छात्रा साइकल नपाएपछि खुबै रोइन । उनका अनुसार उनलाई भारतीय रहेको र उनीसँग जन्म दर्ता नरहेकाले साइकल प्रदान गरिएन । विद्यालयका शिक्षकले समेत साइकल नपाएकी छात्रा खातुन नियमित विद्यालय आउने जेहनदार रहेकाले साइकल दिनुपर्ने बत्ताउँछिन् । 

विद्यालयका शिक्षक गौरीशङ्कर लाल कर्णले यस विषयमा मुख्यमन्त्री कार्यालयको साइकल वितरण फाँटमा व्यापक बहस भएको जानकारी गराए तर लाडली खातुनलाई भारतीय चेली भएकै कारण साइकल दिएन । आफू नियमित विद्यालय आउने विद्यार्थी रहेको र नेपालकै विद्यालयमा अध्ययन गरे पनि साइकल वितरणमा आफूलाई भेदभाव गरिएकोमा उनको दुखेसो छ । 

समाचार बाहिर आएपछि जिल्ला युवा सञ्जाल,धनुषाको पहलमा र अस्ट्रेलियाको सिडनी निवासी नेपाली मूलका रञ्जित साहको सहयोगमा एक थान साइकल, स्टेसनरीको समान र भविष्य मा अझै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै खातुनलाई हस्तान्तरण गरियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्