सिसहनिया(देउखुरी दाङ) । दाङको राप्ती गाउँपालिका अन्तरगत सिसहनिया स्वास्थ्य चौकीबाट भिडियो एक्सरे तथा ईसिजी सेवा सुरु गरिएको छ ।
आइतबार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले भिडियो एक्सरे तथा ईसिजी सेवाको उद्घाटन गर्दै नागरिकको स्वास्थ्य सेवा सर्व सुलभ पाउने अधिकार लाई संस्थागत गर्न सिसहनियामा भिडियो एक्सरे तथा ईसिजी सेवा सुरु गरिएको बताउनु भएको छ ।
अध्यक्ष सुवेदीले राप्ती गाउँपालिकाको ९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा सुरु गरिएको बताउँदै नागरिकको स्वास्थ्य सुरक्षाको लागि गाउँपालिका लागि रहेको बताउनु भएको छ ।
भिडियो एक्सरेको प्रभावकारीका लागि स्वास्थ्य चेकजाँच गरेपछि गाउँपालिका उपाध्यक्ष जगदम्बा कुमारी चौधरीले स्वास्थ्य सेवा लिन चाहने नागरिकले भिडियो एक्सरे तथा ईसिजी सेवा लिन महँगो शुल्क तिर्नुपर्ने र टाढा जानुपर्ने समस्या समाधान भएकोले सर्वसुलभ सस्तो सेवाका लागि सरकारी स्वास्थ्य संस्था रोज्नुपर्नेमा जोड दिनु भएको छ ।
राप्ती गाउँपालिकाले गत वर्ष लालमटिया स्वास्थ्य चौकीबाट भिडियो एक्सरे तथा ईसिजी सेवा सुरु गरेपश्चात् सिसहनिया स्वास्थ्य चौकीका सेवा ग्राहीको माग बमोजिम सिसहनिया स्वास्थ्य चौकीमा समेत भिडियो एक्सरे तथा ईसिजी सेवा सुरु गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।
नागरिकको स्वास्थ्य उपचारका लागि अन्य आवश्यक उपकरणको व्यवस्था गर्न थप पहल भइरहेको सिसहनिया स्वास्थ्य चौकी सञ्चालक समिति अध्यक्ष तथा वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतले बताउनु भएको छ ।
गर्भवती चेकजाँच, मिर्गौला, छाती, कलेजो, पित्त, पाठेघर, पेट सम्बन्धी समस्या लगायत महिला पुरुषमा देखिने विभिन्न समस्याको समाधानका लागि भिडियो एक्सरे तथा ईसिजी सेवा प्रभावकारी रहेको बताउँदै भरपर्दो स्वास्थ्य सेवा लिन सिसहनिया स्वास्थ्य चौकी र लालमटिया स्वास्थ्य चौकीमा आउन सेवा ग्राहीलाई डाक्टर पुष्प भुसालले अनुरोध गर्नु भएको छ । सर्वसुलभ रूपमा चिकित्सक तथा दक्ष स्वास्थ्य कर्मीबाट सेवा लिन स्वास्थ्य चौकी प्रमुख धन बहादुर खड्काले आम नागरिकमा अनुरोध गर्नु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।