राप्तीमा ७ वटा वडा कार्यालयले आफ्नै भवनवाट सेवा दिँदै २ वटा निर्माणाधीन अवस्थामा



सिसहनिया(देउखुरी दाङ) । राप्ती गाउँपालिकामा ७ वटा वडा कार्यालयले आफ्नै भवन वाट सेवा दिँदै २ वटा निर्माणाधीन अवस्थामा रहेका छन् ।
यस बिच बुधवार देखी राप्ती गाउँपालिका वडा नं ७ को कार्यालयले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट सेवा सुरु गरेको छ ।

बुधवार वडा नं ७ का नागरिकहरूको उपस्थितिमा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरी सेवा सुरु गरेको हो । वडा अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको विशिष्ट आथित्यतामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ ।

कृषि, पर्यटन र पूर्वाधार राप्ती गाउँपालिकाको समृद्ध आधारको उद्देश्य सहित सबै वडाको आफ्नै प्रशासनिक भवन बनाउने योजना अनुरूप वडा नं ७ को प्रशासनिक भवन निर्माण गरिएको थियो । भाडाको घरबाट हाल सम्म सेवा प्रवाह गरिँदै आएकोमा नागरिकको सेवामा सहजता प्राप्त गर्न नसक्ने देखिएका कारण प्रशासनिक भवन निर्माण गरिएको बताइएको छ ।

प्रशासनिक भवनको उद्घाटन गर्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले बड्का सिसहनिया, छोटकी सिसहनियाको सिमानामा निर्माण गरिएको वडा नं ७ को नवनिर्मित प्रशासनिक भवनबाट आगामी दिनमा सर्व सुलभ तथा सहज रूपमा सेवा प्रवाहमा सहयोग पुग्ने बताउनु भएको छ ।
शर्मा निर्माण सेवाले ७२ लाख ५८ हजारको लागतमा समयावधि भित्रै निर्माण सम्पन्न गरेको वडा नं ७ को प्रशासनिक भवन दुई तलामा ४ कोठा, २ हल सहित ६ शौचालय समेत निर्माण गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं ७ को नयाँ कार्यालय भवनको उद्घाटन कार्यक्रममा प्रदीप राज शर्मा, असोदा चौधरी, भिमलाल चौधरी, नित्यानन्द शर्मा, शालिकराम पोख्रेल, सुरेश चौधरी, रन प्रसाद सुवेदी लगायतले नागरिकले सर्व सुलभ सेवा प्राप्त गर्न र छिटो छरितो कार्य सम्पादनमा नयाँ भवन सहयोगी बनोस् भनी शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

यो वडा नं ७ को वडा कार्यालय भवन उद्घाटन सँगै राप्ती गाउँपालिकामा वडा नं १, २, ३, ५, ६, ७, ८ को कार्यालयले आफ्नै भवन बाट सेवा दिई रहेका छन् भने वडा नं ४ र ९ का भवनहरू निर्माणको क्रममा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्