नेकपा एमाले औपचारिकरुपमा विभाजित भएको छ । नेकपा एमाले विभाजन गरेको माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । नेता नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस भएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल समूहले नयाँ दल दर्ताको निर्णय गरेको थियो ।
नेता नेपाल एमालेका ५८ जना केन्द्रीय सदस्य र ३१ जना सांसदसहित आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिइएका छन्।
नयाँ पार्टीमा माधव नेपाल अध्यक्ष छन् भने झलनाथ खनाल वरिष्ठ नेताको रूपमा रहनेछन् । साथै सङ्घीय सांसदका ३१ सांसद एमाले समाजवादीमा रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
नेपालको नयाँ पार्टीमा युवराज ज्ञवाली, राजेन्द्र पाण्डे, विरोध खतिवडा, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ लगायत नेताहरू छन् । यद्यपि नेपालसँग सुरुदेखि सँगै रहेका नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत नेताहरू भने अझै खुलेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।