काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरू फोहोरको डङ्गुरले भरिन थालेका छन् । काठमाडौं महानगरपालिकाले समयमा नै फोहोर उठाउन नसक्दा विगत १५ दिनदेखि फोहोर थुप्रन पुगेको हो ।
महानगरपालिकाका अनुसार झरी र हिलोले सडक अस्तव्यस्त भएकाले नुवाकोटको औखरपौवा (सिस डोल)स्थित ल्यान्ड फिल्ड साइटमा गाडी जान नसकेर फोहोर नउठेको हो । काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर सहरवासीलाई फोहोर बाहिर ननिकाल्न भनेको छ । जसका कारण काठमाडौँवासी टोल टोल र घरघरमा नै फोहोर थुपार्न बाध्य भइरहेका छन् ।
दुई हप्तादेखि तीन हप्तासम्मको फोहोर कोठाभित्रै राख्नुपर्ने समस्या आइपरेपछि कतिपयले राति राति चोक, सडक र नदी किनारमा फोहोर फाल्न थालेका छन् जसका कारण सरुवा रोगको महामारी फैलिने जोखिमसमेत बढेको छ । काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिस डोलमा पुग्ने गरेको थियो । काठमाडौँबाट दैनिक औसत ५ सय १७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५ सय ३७ टन फोहोर उठ्ने गर्छ ।
फोहोर उठ्ने क्रम रोकिँदा करिब १५ हजार ८ टन फोहोर सडक किनारा र जनताको घरभित्र थुप्रिएको काठमाडौं महानगरपालिकाको वातावरण विभागले जनाएको छ ।
ललितपुर महानगर क्षेत्रबाट १ सय ३० मेट्रिक टन फोहोर सङ्कलन गरेर ल्यान्ड फिल्ड साइटमा पु¥याउने गरिएको छ । उपत्यकाका गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बुढानीलकण्ठ नगर क्षेत्र हरेकबाट ३५-३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको तथ्याङ्क महानगरसँग छ ।
चन्द्रागिरि, महालक्ष्मी र मध्यपुरथिमी नगर क्षेत्रबाट दैनिक ३०-३० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । गोदावरी र सूर्य विनायक नगर क्षेत्रबाट २५-२५ मेट्रिक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन तथा दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५-१५ मेट्रिक टन फोहोर सङ्कलन हुने गरेको महानगरपालिकाले जनाएको छ ।
शंकरपुर नगर क्षेत्रमा ८ मेट्रिक टन र सबभन्दा कम कीर्तिपुर नगरमा दैनिक ६ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । उपत्यकाका महानगरपालिका र नगरपालिकाबाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबसी नगर क्षेत्रको फोहोर पनि सिस डोल ल्यान्डफिल साइटमा आउने गरेको छ । तर, अहिले सबैतिर फोहोर उठाउने काम अवरुद्ध भएको छ । याे समाचार राजधानी दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।