वराहक्षेत्र कोल्ड सेन्टरमा राखिएको आलु बीउ नष्ट, कृषक भन्छन्, ‘हामीलाई क्षतिपूर्ति कसले दिन्छ ?’ 



सुनसरी । वराहक्षेत्र नगरपालिकामा रहेको कोल्ड सेन्टर (चिस्यान गृह)मा चार महिना अघि ५सय ७०बोरा बीउ आलु राखिएको थियो । वराहक्षेत्रका ११ वटै वडाबाट किसान तथा कृषि फर्महरूले सुरक्षित हुने भन्दै बीउ आलु राखेका हुन् । तर यति बेला सबै आलुहरू बोराभित्रै उम्री सकेको, चाउरी परेको, तौल अस्वाभाविक रूपमा घटेको, चिसो भएको र कुहिने अवस्थामा छन् ।

कृषकहरूका अनुसार आफूहरूलाई राख्नुअघि बोराको ३ सय रुपैयाँ तिर्नुपर्ने बताइएको थियो । यद्यपि कोल्ड सेन्टर ट्रायलको अवस्थामा भएकाले पैसाको कुरा निश्चित नभइसकेको वराहक्षेत्र नगरपालिका कृषि विकास शाखाकी प्रमुख तुलसा लिम्बुले बताइन् ।

भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालय, प्रदेश नम्बर १ को ५० लाख र वराहक्षेत्र नगरको १७ लाख बजेटमा भर्खरै निर्माण सम्पन्न भएको कोल्ड सेन्टरलाई नगरपालिकाअन्तर्गत कृषि शाखाले रेखदेख गर्दै आएको शाखाका कर्मचारी नीर बहादुर राईले जानकारी दिए । उनकाअनुसार चक्र घटीमा कहिदिनयता  विद्युत्मा आएको उतारचढावले गर्दा तापक्रम नमिल्दा आलु बिग्रिने अवस्थामा आएको हो । सुरुमा १० बोरा ट्रायलको लागि राख्ने कुरा भएको थियो तर  सबैले आफू-आफू हामी राख्न पाउनुपर्छ भन्दै राख्न थालेपछि अहिले यस्तो परिस्थिति आयो, राईले भनेँ ।

यसैबिच वराहक्षेत्र ४ का किसान सञ्जय खत्री प्रश्न गर्छन्, ट्रायलको रूपमा थियो भने वडाले किन सिफारिस गर्‍यो ? खत्री वडाले कोल्ड सेन्टरमा बीउ आलु राख्न सिफारिस गरेको आधारमा त्यहाँ पुगेका थिए ।

त्यस्तै, वराहक्षेत्र ४ का अर्का किसान कुमार थापाले कर्मचारीको लापरबाहीले बीउ आलु नष्ट भएको आरोप लगाए । उनले भने, बिजुलीको पावर ठिकै थियो, कर्मचारीले ‘एसी’ चलाइदिएनन्, रेखदेख पनि गरेनन् । कृषक थापाको जवाफ दिँदै कर्मचारी राईले भनेका छन्, हामीले बेलाबेलामा रेखदेख गरिरहेकै छौ, भोल्टेजको समस्याका कारण यस्तो भएको हुँदा यस विषयमा विद्युत् प्राधिकरणसँग कुरा भइसकेको छ, अर्को पटक देखी यस्तो हुँदैन ।

यस क्रममा वराहक्षेत्र ८ मा रहेको दर्पण अर्गानिक कृषि रिसर्च सेन्टरले १५ बोरा बीउ आलु राखेको भएपनी ५ बोरा नभेटिएको (समाचार तयार गर्दासम्म) बताइएको छ । सञ्चालक पीताम्बर राई भन्छन्, नगरले प्राविधिक टोली र कर्मचारी नियुक्त गर्न नसक्दा समस्या आएको हो ।
अर्का कृषक अर्जुन थापाको ५० केजी सहित अन्य ५ जनाको समेत बीउ आलु हराएको उनीहरूले गुनासो गरे । यसैबिच पुनः कृषि शाखा प्रमुख लिम्बू भन्छिन्, हराउने भन्ने कुरा नै हुँदैन ।

एक जना कृषकले ५० केजीको बोरामा आलु घटेर ३५ देखि ४० केजी मात्र भएको बताए । उनले प्रश्न गरेका छन्, यो कुहिएको र अस्वाभाविक घटेको आलुको क्षतिपूर्ति कसले दिन्छ ? केही बोरा आलु कुहिएर चौरमा फालिएको अवस्थामा समेत देखिएको थियो । तर कृषि शाखा प्रमुख लिम्बुले भने, ५० केजीमा २/३ केजी मात्र नष्ट भएको जिकिर गरेकी छन् । साथै उनले आवश्यक पर्ने भए क्षतिपूर्ति दिने सम्बन्धमा छलफल हुने बताइएकी छन् । ‘किसानहरू मर्कामा पर्नुभएकै छ’, उनले भनेकी छन्, ‘हामी चाडै नै नगरपालिकाका मेयर र कार्यकारी प्रमुखसँग छलफल गरेर निचोड निकाल्ने छौ ।’

उनले कृषि शाखामा सीमित कर्मचारी भएकाले काम गर्न गारो भएको बताइन् । यद्यपि उनी आफै बीउ राखेपश्चात् कोल्ड सेन्टरमा पटक पटक निरीक्षण गरिरहेकी छन् । किसानहरूले भनेझैँ कर्मचारीको लापरबाहीले त्यस्तो भएको हैन, उनले भनिन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्