‘मैँले कोट र केही कपडाको भरमा देश छाडेको हुँ’



एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ गनी कहाँ १५ अगष्टमा अचानक सरकारी अधिकारीहरू आइपुगे । राष्ट्रपति भवनमा आएका अधिकारीहरूले तत्काल काबुल छाड्न भने । कुनै पनि समय खेर नफाली हिँडिहाल्न भने ।

गनीले कोट मात्र फेर्न भ्याए । सरसामान मिलाउँदै गर्दा सरकारी अधिकारीहरूले ढिलो भइसकेको भनेर दबाब दिए । उनी जुत्ता समेत फेर्न नभ्याई निस्किए ।

बुधबार फेसबुकमा भिडियोमार्फत गनीले आफूले वेष्ट कोट मात्र फेरेर काबुल छाडेको सुनाएका छन् । उनले भनेका छन्, ‘मैँले कोट र केही कपडाको भरमा देश छाडेको हुँ ।’ आफूले केही महत्त्वपूर्ण डकुमेन्ट सिवाय केही लिएर देश नछाडेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘जुत्ता फेर्न पनि भ्याइनँ ।’

तालिवानले काबुल कब्जा गर्न लागेपछि विमान चढेर अफगानिस्तान छाडेका राष्ट्रपति असरफ गनीले ठूलो परिमाणको पैसा साथमै लगेको चर्चा चलेपछि उनले खण्डन गरेका हुन् । आफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै झुट र निराधार आ’रोप भने ।

उनले विमानमा सकेजतिको पैसा हालेर भागेको चर्चा चलेको चार दिनपछि मुख फोरेका हुन् । गनी यति बेला संयुक्त अरब इमिरेट्समा छन् । करोडौँ डलर रकम लिएर भागेको आ’रोपबारे उनले भने, ‘मैँले कोट र केही कपडाको भरमा देश छाडेको हुँ । मेरो चरित्रहत्या गर्न खोजिएको छ र मैँले रकम लगेँ भन्ने आ’रोप निराधार झुटा हुन् । तपाईँ भन्सार अधिकारीहरूसँग यसबारे सोध्न सक्नुहुन्छ ।’

ताजिकिस्तानका लागि अफगानी राजदूत मोहम्मद जहिर अगबरले गनीमाथि १६ करोड ९० लाख डलर राज्यको रकम चोरेर लगेको आरोप लगाएका थिए । राज्यमाथि घात गरेको आ’रोप समेत लगाएका थिए । उनका प्रतिद्वन्द्वी नेता अब्दुल्ला अब्दुल्लाले समेत देशलाई अध्यारोमा पारेर भागेको आ’रोप लगाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्