माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न सभामुखलाई एमालेको दवाव



प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले माधव नेपालसहित १४ जना सांसदलाई चाँडो पदमुक्त गर्न सभामुख अग्निप्रसाद सापकोटालाई दबाब दिएका छन् ।

बिहीबार एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटालाई भेटेर कारबाहीमा परेका सांसदलाई पदमुक्त गर्न दबाब दिएका हुन् । नेपाललाई नेकपा एमालेको केन्द्रीय समितिले कारबाही गरिसकेको भन्दै त्यसको कार्यान्वयनमा ढिलाइ नगर्न भन्दै आज सभामुखसँग भेट गरेका हुन् ।

यसअघि भदौ १ गते एमालेले माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गर्दै संसद् सचिवालयमा पत्र पठाएको थियो । तर,एमालेको उक्त कारबाही अवैधानिक भन्दै माधव नेपालसहितका नेताहरूले भदौ २ गते उक्त पत्र अघि नबढाउन सचिवालयमा अर्को पत्र पठाए पनि दर्ता भएको थिएन ।

आफूहरूले दल त्यागको सूचना दिएको ७२ घण्टा पुग्न लाग्दासम्म सभामुखले सूचना प्रकाशन नगरेकाले भेटेर ध्यानाकर्षण गराएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सभामुख सापकोटाले आफूले यो विषय छिटो टुङ्ग्याउने आश्वासन दिएको पनि भट्टराईले बताए ।

एमाले नेताहरूले आफूहरूले दिएको निवेदनमा भने किन निर्णयमा ढिलाइ भएको भनी प्रश्न गरेका छन् । उनीहरूले सभामुखले माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन स्वीकृत होस् भनेर पर्खिएको हुनसक्ने भन्दै त्यसो गरेमा आफूहरू चुप लागेर नबस्ने बताएका छन् ।

जवाफमा सापकोटाले विधि, प्रक्रियाअनुसार आफूले निर्णय गर्ने जनाइएको छ । सापकोटालाई भेट्न गएका एमालेका एक नेताले सभामुखलाई निर्वाचन आयोगबाट दल दर्ता स्वीकृत होस् भन्ने कुनै छुट छैन,’ उनले भने, दलले निष्कासन गरेपछि स्वतः कार्यान्वयनमा जाने हो, यसमा सभामुखले त खाली सूचना टाँस्ने मात्र काम भएको बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्