आगामी सातादेखि सवारी चालक लाइसेन्सको ट्रायल



यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो ।

विभागले मङ्गलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिस गरेको थियो । सिफारिसपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबिच भएको छलफलमा ट्रायल परीक्षा खुलाउन सीसीएमसी सकारात्मक देखिएको हो ।

सीसीएमसीले विभागसँग ट्रायल परीक्षामा भिडभाड हुने भएकाले कडा स्वास्थ्य मापदण्डसहितको योजना मागेको थियो । विभागले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डअनुसारको ट्रायलका लागि मापदण्ड बनाएर शुक्रवार सीसीएमसीमा पेश गर्ने तयारी गरेको महानिर्देशक घिमिरेले बताए । ‘सीसीएमसी ट्रायल खोल्न सकारात्मक रहेकोमा हामीले त्यसअनुसार मापदण्ड पनि बनाएका छौँ,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर आगामी सातादेखि ट्रायल खोल्ने तयारी थाल्न यातायात कार्यालयलाई पनि भनिसकेका छौँ ।’

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्