कोरोनाले रोकिएका ११ हजार कामदार कोरिया जान पाउने, साढे २ लाख खर्च थपिने



काठमाडौँ । कोरोना महामारी सुरु भएपछि कोरिया जान नपाएका ११ हजार कामदार कोरिया जान पाउने भएका छन् । गत वर्ष नेपालमा लकडाउन सुरु भएपछि अहिलेसम्म पनि कामदारहरू कोरिया जान पाएका थिएनन् । नेपाल सरकार र कोरिया सरकारबिच भएको सहमति अनुसार अब कामदारहरू कोरिया जान पाउने भएका हुन् ।

नयाँ व्यवस्थाअनुसार कामदार पठाउँदा श्रमिकले साढे २ लाख थप खर्च गर्नुपर्नेछ । यसअघि ट्रान्जिट हुँदै कोरिया जान पाउने थियो । त्यसका लागि हवाई भाडा नेपाली ३६ हजार लाग्थ्यो । तर, कोरिया सिधा उडानमार्फत जाँदा कम्तीमा करिब ८४ हजार नेपाली रुपैयाँ लाग्ने अनुमान छ ।

तर, सीधा उडानबिच कामदार पठाउने, कोरियामा पुगेर १४ दिन क्यारेन्टिन बस्नुपर्ने र क्वारेनटिन तथा बिमा शुल्कसमेत कामदार स्वयंले व्यहोर्ने विषयमा सहमति भएको छ । ती तीन वटै सर्त कोरिया सरकारले राखेका कारण लामो समयदेखि कामदार जान पाएका थिएनन्, यी सर्त पूरा गर्ने सहमति भएका कारण अब कामदार जान पाउने वैदेशिक रोजगार विभागले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार नेपालबाट सीधै कोरिया कामदार पठाउन वैदेशिक रोजगार विभागले उडानका लागि बुधबार टेन्डर आह्वान गरेको छ । बोलपत्रमा इजाजतप्राप्त संस्थाहरूले ३१ दिनभित्र आवेदन पेस गर्नुपर्ने उल्लेख छ । यो प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा कोरिया पठाउने ट्राभल एजेन्सी छनोट गरेपछि कामदारहरू कोरिया जान पाउनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्