सप्तकोसी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ ।
ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरू सबैलाई प्रहरी चौकी कोसी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका उनीहरूलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सकुशल उद्धार गरेकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीय महिला रहेका छन् ।
त्यसै गरी भारत मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीय महिला र काभ्रेपलान्चोककी ४० वर्षीय महिला समेतलाई आत्महत्याका लागि नदीमा हामफालेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
आत्महत्याको प्रयासमा कोसीमा हामफालेका सबैको सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।