काठमाडौँ । प्रदेश २ को प्रदेश सभामा नेकपा एमालेका बहुमत सांसद माधवकुमार नेपाल नेतृत्वको एमाले (समाजवादी) मा खुलेका छन्। राजनीतिक दल विभाजनलाई सहज बनाउन सरकारले ल्याएको अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल छान्न २१ दिनको समय दिइएको छ । अध्यादेश जारी भएपछि नेकपा एमाले विभाजन भएको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
एमाले औपचारिक रूपमा विभाजित भएपछि स्थानीय तह र प्रदेशका जनप्रतिनिधि आफ्नो दल रोज्न थालेका हुन्। यहिक्रममा प्रदेश २ को प्रदेशसभामा एमालेका बहुमत सांसद माधवकुमार नेपाल पक्षका खुलेका छन् । एमालेका २१ जना सांसद रहेको प्रदेशसभामा १३ जना नेपाल पक्षमा खुलेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा जम्मा ८ जना मात्रै देखिएका छन्।
शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा, सीता गुरुङ एमाले समाजवादीमा खुलेका हुन्। बहुमत सांसदहरूले नेपाल नेतृत्वको नयाँ पार्टीमा लागेसँगै उनीहरू सरकारमा पनि सहभागी हुने भएका छन्।
निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिइसकेपछि संघ र प्रदेश सरकारमा सहभागी हुन प्याकेजमै सहमति हुने तत्कालीन एमाले संसदीय दलका नेता शत्रुधन महतोले जानकारी दिए। ‘आयोगले दल दर्ताको प्रमाणपत्र दिइसकेपछि २१ दिनभित्र दल रोज्ने प्रावधान छ। नेताहरूले दल रोजिसकेपछि केन्द्र र प्रदेश सरकारमा सहभागी हुन प्याकेजमै सहमति बन्छ,’ उनले भने।
यसअघि माओवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले जसपाबाट मन्त्री बनाइएका ज्ञानेन्द्रकुमार यादवलाई पदमुक्त गरेका थिए। प्रदेश २ मा हाल जनता समाजवादी (जसपा), नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकार छ। एमाले (समाजवादी) सरकारमा सहभागी भए दुई तिहाइ बहुमतले सभामुखलाई समेत हटाउने चर्चा सुरु भएको छ। तत्कालीन राजपाको कोटाबाट सभामुख चुनिएका सरोज यादवलाई हटाएर उपेन्द्र यादव पक्षलाई दिने चर्चा चुलिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।