माधव नेपाल नेतृत्वको पार्टीको नाम फेरियो, ‘एकीकृत’ थपियो, ‘एमाले’ हट्यो



नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्ताव गर्नुभएको दल नेकपा एमाले (समाजवादी)को नाम फेरिने भएको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ ।

राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपाल पक्षको निवेदन दर्ता भएको बताए । यसअघि एमालेबाट अलग भएका नेता माधवकुमार नेपाल पक्षले भदौ २ गते बुधवार अलग दल दर्ताको आवेदन आयोगमा दिएको थियो ।

सर्वोच्चको फैसला अनुसार कुनै पार्टी दर्ता गर्दा अर्को पार्टीको नामसँग मिल्न नहुने कानुनी व्याख्या अनुसार नाम परिवर्तन गरिने भएको हो । जहाँ एमाले शब्द मूल पार्टीसँग मिलेपछि निर्वाचन आयोगले अर्कै नाम ल्याउन भन्दै उक्त पार्टी दर्ता गर्न अस्वीकार गरेको थियो ।

नेपाल पक्षले पार्टीको चिह्न प्रस्ताव गरेको खुला किताबका सम्बन्धमा समेत विवाद देखिएको छ। आयोगमा दर्ता भइसकेको पार्टीले चिह्न लिइसकेकाले चिह्नका सम्बन्धमा समेत अन्योल देखिएको हो। नेपाल पक्षले नयाँ चिह्नका सम्बन्धमा भने निर्णय लिइसकेको छैन।

सरकारले २० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुर्‍याए अर्को पार्टी दर्ता गर्न सक्ने गरीको अध्यादेश ल्याएपछि नेकपा एमालेबाट नेपाल पक्ष विभाजित भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्