कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रवेश प्रतिबन्ध हटाएको छ। उसले नेपालसहित ६ देशका व्यावसायिक उडानलाई पुनः अनुमति दिएको छ ।
बुधवार कुवेतको मन्त्रिपरिषद्ले नेपासहित भारत, इजिप्ट पाकिस्तान, बङ्गलादेश, र श्रीलङ्कासँगका व्यावसायिक उडान पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
नेपाल र कुवेतबिच विगत लामो सममदेखि उडान रोकिएको थियो । उसले नेपाललाई कोभिडको सङ्क्रमणको ‘हाइ रिस्क’ मुलुकको सूचीमा समावेश गरेको थियो। कुवेतले गत १ अगस्टदेखि विमानस्थल सुचारु गर्दै व्यावसायिक उडानको लागि अनुमति दिएको थियो । त्यत्ति बेला नेपालसहित ५ देशहरूबाट हुने उडान भने १० अगस्टसम्म रद्द गरिएको थियो।
१० अगस्टपछि प्रतिबन्ध फुकुवा हुने अपेक्षा थियो । तर, फेरि उसले निर्णय बदल्दै निश्चितकाको लागि प्रतिबन्ध लगाएको थियो।
उडान प्रतिबन्धका कारण घर बिदामा गएका थुप्रै श्रमिक नेपालमै अड्किएका थिए । यसबाहेक कुवेतबाट स्वदेश फर्किने तयारीमा रहेका नेपाली पनि प्रभावित भएका थिए।
सिधा उडान सुचारु भएपछि यसले नेपाली श्रमिकलाई ठुलो राहत मिलेको छ।नयाँ निर्णय अनुसार यी देशहरूसँगका उडानहरू कुवेतको मन्त्री स्तरीय कोरोना भाइरस आपत्कालीन समितिद्वारा निर्दिष्ट गरिएका मापदण्डको आधारमा सञ्चालन हुनेछन्।
नागरिक उड्डयन महानिर्देशनालयले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको कोटाको आधारमा सञ्चालन हुने २९ वटा एयरलाइन्सको लागि कोटा निर्धारण गरेको छ ।
जसअनुसार, सञ्चालन क्षमता बढाएर प्रतिदिन ७ हजार ५ सय यात्रुसम्म पुर्याउने बताइएको छ। निर्देशनालयका अनुसार कुनै गन्तव्यका लागि कोटा बढाइएको छ भने बाँकी गन्तव्यको लागि कोटा यथावत् राखिएको छ। प्रवासखबर
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।