मलाला जसलाई पढ्न खोज्दा टाउकोमा गोली हानियो, तालिबान फर्किएकोमा यसो भन्छिन्…



अफगानिस्तानमा तालिबानले पूर्ण रूपमा नियन्त्रण कायम गरेका छन्। यो बिचमा धेरै सङ्घर्षबाट प्राप्त गरिएको स्वतन्त्रता र अधिकार गुम्ने खतरा बढेको टिप्पणीहरू भइरहेका छन्। विशेष गरी महिलाले पाएको स्वतन्त्रता गुम्ने खतरा भएको नोबेल पुरस्कार विजेता मलाला युसुफजाई बताउँछिन्।

पाकिस्तानी मलाला युसुफजाईलाई ९ वर्ष अगाडि विद्यालयको शिक्षा छोड्न तालिबानले आदेश दिएको थियो। तर उनले तालिबानको चेतावनी नकार्दै पढ्न विद्यालय गइरहिन् जसका कारण उनको टाउकोमा गोली हानियो। उनलाई हत्या गर्न गोली हानिएको थियो। तर भाग्यवश उनी बाँचिन् र बेलायतमा बस्दै आएकी छिन्।

यति बेला तालिबान अफगानिस्तानको सत्तामा फर्किएको अवस्था छ र उनले तालिबानीहरु सरकारमा आएमा अफगानिस्तानमा हुने सम्भावित घटनाक्रमबारे आफ्नो धारणा राखेकी छिन्। महिला अधिकारको लागि काम गर्ने मलाला तालिबानको पुनः आगमले चिन्तित छिन्।

उनी भन्छिन्,‘म अफगानिस्तानको वर्तमान अवस्थालाई लिएर चिन्तित छु। खास गरी त्यहाँका महिला र किशोरीहरूको सुरक्षाको विषयलाई लिएर।’ मलालाका अनुसार तालिबान फर्किएपछि त्यहाँका अधिकांश मानिसले सन् १९९६ देखि २००१ सम्म कस्तो अवस्था थियो भनेर सम्झिरहेको होलान् पनि।

आफूलाई विद्यालय गएकै कारण गोली हानिएको सम्झना गर्दै किशोरीहरूले विद्यालय जान नपाउने उनको भनाइ छ। चिन्तित हुँदै उनी भन्छिन्,‘हामीले पहिल्यै समाचारहरूमा देखिसकेका छौँ कि विश्वविद्यालय र विद्यालयबाट केटी मान्छेलाई फर्काइएको छ। उनीहरूमध्ये धेरै १५ देखि १२ वर्षकी किशोरीहरूलाई विवाह गर्न भनिएको थियो।’

जब उनीहरू पहिले सत्तामा थिए उनीहरूले महिलाविरुद्ध अत्याचार गरे, महिलालाई कठोर दण्ड दिए, विद्यालय जान प्रतिबन्ध लगाए, तर यस पटक तालिबान नेताले उनीहरूको शासन पहिलेजस्तो नहुने बताएका छन्। तर के मलाला यस्ता आश्वासनसँग सहमत छिन्?

मलाला भन्छिन्,‘वर्षौँदेखि महिलाहरूको सक्रियता र सहभागिताले तालिबानलाई धेरै दबाब दिएको छ। उनीहरू खुलेआम महिलाहरूलाई आफ्नो कामबाट रोक्न सक्दैनन्। उनीहरूले महिलालाई अधिकार दिनेबारे अस्पष्ट विचार राखेका छन्। त्यसैले महिलाले अधिकार पाउँछन् भन्ने कुनै ग्यारेन्टी छैन।’

देश कब्जा गरेपछि मङ्गलवार पहिलो पत्रकार सम्मेलन गर्दै तालिबानले हिजो शरिया कानुन अर्थात् मुस्लिम धर्ममा भनिए जति अधिकार महिलाले पाउने बताएका छन्। अधिकार दिने भने पनि उनीहरूले यसमा के पर्छ भनेर राम्रोसँग उल्लेख नगरेकाले दुबिधा देखिएको हो।

मलालाले अफगानिस्तानमा पछिल्लो समय देखिएको परिदृश्यलाई मानव सङ्कट भनेकी छिन्। अमेरिकी विमानमा झुन्डिएर मानिसहरू जान खोजिरहेका छन्। सो क्रममा विमानबाट खसेर धेरैले ज्यान गुमाइसके। मलालाका अनुसार विश्वभरका देशले अफगानिस्तानका शरणार्थीलाई शरण दिनुपर्छ त्यसको लागि सीमा खुला राख्नुपर्छ।

उनले संयुक्त राष्ट्रसंघलाई अपिल गर्दै अफगानिस्तानका नागरिकको सुरक्षामा प्राथमिकता दिन साथै त्यहाँका अल्पसङ्ख्यक, महिला, किशोरीको सुरक्षामा ध्यान केन्द्रित गर्न आग्रह गरेकी छिन्।

उनले अफगानिस्तानको महिला र किशोरीलाई भनेकी छिन्,‘सबै अफगान महिला र किशोरीलाई मेरो सन्देश यही हो कि म तपाईँहरूको साथमा छु। तपाईँको आफ्नो अधिकार, भविष्यको अधिकार, शिक्षाको अधिकार साथै सपना साकार गर्ने अधिकारको पक्षमा उभिनेछु।’ बिबिसीबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्