इजरायल रोजगारीमा जान ९ हजार ६९९ जनाले दिए आवेदन



सरकारी प्रक्रियाबाट इजरायल रोजगारीमा जान साढे ९ हजार बढीको आवेदन परेको छ । वैदेशिक रोजगार विभागका अनुसार साउन ३२ गतेसम्म इजरायल रोजगारीका लागि ९ हजार ६९९ जनाले आवेदन दिएको बताएको छ ।

आवेदन दिनेहरूको भदौ अन्तिमसम्म परीक्षा लिइने भएको छ र परीक्षामा उत्तीर्णमध्ये जम्मा एक हजारले इजरायलमा रोजगारीको अवसर पाउने वैदेशिक रोजगार विभागले जनाएको छ ।

नेपाल सरकार र इजरायल सरकारबिच २०७७ सालको असोजमा नेपाली नागरिकहरूलाई इजरायलमा लग्ने गरी द्विपक्षीय श्रम सम्झौता भएको थियो । सोही सम्झौता कार्यान्वयन गर्न ‘नेपाल सरकारले इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका,२०७८’ जारी गरिसकेको छ ।

सम्झौता अनुसार इजरायल सरकारले अहिले एक हजार जना सहायक कामदारको माग गरेको छ । इजरायल सरकारको मागअनुसार वैदेशिक रोजगार विभागले इजरायल जान चाहनेहरूका लागि आवेदन खुलाएको थियो ।

विभागले इजरायलमा रोजगारीका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने भन्दै कम्तीमा १.५ मिटर उचाइ र ४५ किलो तौल भएको हुनुपर्ने जनाएको थियो । यस्तै, कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिना अध्ययन पूरा गरेको वा १० प्लस २ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिना तालिम प्राप्त गरेको हुनुपर्ने जनाएको थियो ।

इजरायल जाने कामदारको खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने भए पनि बस्ने प्रबन्ध भने रोजगारदाताले नै गर्नेछन् । एक पटक रोजगारमा जाने करार अवधि १ वर्षको हुने भए पनि करार थपिएर ५ वर्षसम्म बस्न पाइनेछ ।

हालसम्म आएका साढे ९ हजारभन्दा बढी आवेदन विभागले अध्ययन गरिरहेको छ भने अन्तिम सूचीमा पर्नेहरू लिखित परीक्षामा सहभागी हुनुपर्ने छ । लिखित परीक्षामा उत्तीर्ण हुनेले इजरायल जानका लागि अन्तर्वार्ता समेत दिनुपर्छ । 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्