भिडभाड नगरी चाडपर्व मनाउन आग्रह



गृह मन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ। साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताउनु भयो ।

सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिने गरी काम गराउन भनिएको उँहाले जानकारी दिनु भयो । अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्ने प्रवक्ता पोखरेलले बताउनु भयो ।

कोभिड–१९ को अवस्था हेरेर आवश्यकताअनुसार निषेधाज्ञा लागू गर्ने वा खुकुलो बनाउने अधिकार दिइएकाले सोहीअनुसार स्थानीय प्रशासन सक्रिय हुँदै आएको र चाड पर्वका बेलामा पनि सोही प्रक्रिया अपनाइने भएको छ।

उपत्यकामा यही ८ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ। काठमाडौँ जिप्रकाले अहिले पनि कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले जनै पूर्णिमासँगै सोमबार हुने गाईजात्रा भिडभाड नगरी मनाउन अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि अनुरोध गरेका हुन्। 

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार सरकारको आदेश र स्थानीय प्रशासनबाट जारी निषेधाज्ञाअनुसार नै शान्ति सुरक्षा, कोभिड सङ्क्रमण नियन्त्रण र भिडभाड रोक्न ७७ वटै जिल्लामा प्रहरी परिचालन भई रहको छ। निषेधाज्ञाका बेलामा पनि ठाउँ ठाउँका व्यापारिक केन्द्र, मठमन्दिर र सार्वजनिक क्षेत्रमा भिडभाड हुने गरेकाले कोरोनाको जोखिम बढ्दो देखिन्छ।  आज जनै पूर्णिमाका दिन विभिन्न शक्तिपिठमा मानिसको भिड थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्