काठमाडौं, ७ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले आफू माधव नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने घोषणा गरेका छन्। आइतबार जनता जान्न चाहन्छन् कार्यक्रममा नेता गौतमले यस्तो बताएका हुन् ।
कुराकानीको क्रममा उनले भनेका छन्, ‘केपी ओलीको जालझेल, षड्यन्त्र, दम्भ र अहमताको कारणले नेकपा (एमाले) फुट्यो, अब म केपी ओलीको नेतृत्वको एमालेमा रहन सक्दिन। उहाँले कम्युनिष्ट आन्दोलनलाई बचाउन सक्नुहुन्न।’ उनले आफू माधव नेपालको पार्टीमा जाने तयारी भइसकेको र निर्वाचन आयोगले दल दर्ताको लागि सनाखत गर्नेबित्तिकै प्रवेश गर्ने पनि जनाए।
उनले भनेका छन्, ‘माधवजीको पार्टीलाई निर्वाचन आयोगले सनाखत गरेर नयाँ दलको मान्यता दिएपछि एमाले छोडेर माधव नेपालको पार्टीमा जान्छु, म मात्रै होइन एमाले एकता अभियानमा रहेका २ हजार नेता तथा कार्यकर्ताहरु माधव नेपालको पार्टीमा प्रवेश गराउँछु। हामी सबै प्रवेश गर्छौं।’
माधव नेपालको पार्टीमा गए पनि आफू सरकारमा भने नजाने दाबी गरे। उनले भनेका छन्, ‘म कुनै पनि हालतमा मन्त्री बन्दिन। शेरबहादुर देउवाको नेतृत्वमा रहेको अहिलेको सरकारमा म उपप्रधानमन्त्री र मन्त्री बन्दैछु भनेर समाचार आएका छन्, यसमा कुनै सत्यता छैन। म कुनै पनि हालतमा मन्त्री बन्दिन।’
उनले माधव नेपालको पार्टीमा प्रवेश गरेपछि आफूले पार्टी एकताको लागि जिम्मेवारी लिने पनि जानकारी दिएका छन्। उनले भनेका छन्, ‘हामी आउने चुनावमा एमाले र माओवादीसँग चुनावी गठबन्धन गर्छौं।’ उनले नेकपा (माओवादी केन्द्र) सँग एकता हुनै नसक्ने ठोकुवा गरे। उनले भने, ‘हामी प्रचण्डजीको पार्टीसँग गठबन्धनसम्म गर्छाैं, एकीकरण गर्दैनौं।’ गौतमले आगामी निर्वाचनमा केपी ओली, प्रचण्ड र माधव नेपालबीच चुनावी कार्यगत एकता हुने बताए।
आफू राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने पक्षमा नभएको पनि गौतमको भनाई छ। उनले भने, ‘केपी ओलीसँग मिलेर विद्याजीलाई राष्ट्रपति बनाउने कुरामा मेरो पनि भूमिका थियो, तर त्यो मेरो गल्ती थियो। अब राष्ट्रपतिमाथि महाभियोग लगाएर अर्को गल्ती म गर्न चाहँदिन।’
उनले केपी ओलीको सरकारको कार्यकालमा राष्ट्रपति भण्डारीले सही भूमिका निर्वाह गर्न नसकेको कुरा यथार्थ र सत्य भएको सुनाए। उनले भने, ‘अहिले शेरबहादुर देउवाको सरकार आउँदा उहाँको भूमिका सन्तोषजनक छ, राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्दा पनि उहाँले अध्ययन र प्रक्रियामा गएर मात्रै जारी गर्नुभयो। जबकी केपी ओलीको पालामा भने उहाँले तुरुन्तै जारी गर्नुभएको थियो। म राष्ट्रपतिमाथि महाअभियोग लगाउने पक्षमा छैन।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।