पोखरा । कास्कीको पोखरास्थित महेन्द्रपुल सेलवेज गेटको पारी, गरिमा विकास बैंक अगाडिको सडक भासिएर भ्वाङ परेको छ ।
पोखरामा पानी परिरहेका बखत जमिन भासिएर भ्वाङ परेको हो । भ्वाङमा एउटा बिजुलीको पोल पनि परेको छ । नालाको मुख, पालिखे चोक हुँदै पानी पर्दा खोलाजस्तै भेल महेन्द्रपुलमै आइपुग्छ । त्यो भलले सडकसमेत भत्काउने गरेको छ ।
आइतबार राति भ्वाङ नै परेपछि महेन्द्रपुल क्षेत्रका मानिस त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पानीको भल त्यही भ्वाङबाट छिर्दा जोखिम बढेको छ ।
सडक भासिएको ठाउँमा एउटा विजुलीको पोल परेको छ। पोल गाडिएकै ठाउँमा सडक भासिएको हो। दुर्घटना हुन नदिन प्रहरीले शनिबार राती नै भासिएको खाडल पुरेको छ।
प्रहरी, महानगरको टोली र विद्युत प्राधिकरण पोखरा मिलेर खाडल पुरेको कास्की प्रहरी प्रवक्ता डिएसपी हमालले बताए।
महेन्द्रपुलमा बगेर आउने आकाशे पानीको भल पनि गए राति नै तर्काइएको छ। प्रहरी टोलीले भल तर्काएको हो। राती भासिएको खाल्डो पुरिए पनि बिहानसम्म भासिएको ठाउँ बढ्दै गएको स्थानीयले बताएका छन्।
उनीहरुका अनुसार सडक भासिएर फुटपाथतिर पनि बढ्दै गएको छ। पोखरामा बेला मौकामा यस्ता भ्वाङ देखिने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।