काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समिति उपाध्यक्ष युवा व्यवसायी हिमाल गुरुङले उम्मेदवारी दिएका छन् । करिब दुई दशकदेखि नेदरल्याण्डबाट विभिन्न व्यवसाय सञ्चानल गर्दै आएका गुरुङले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समितिमा वर्ष २०२१–२३ का लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएनएको नेतृत्वमा युवा पुस्ता भन्ने नारासहित उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । लामो समय सङ्घको अभियानमा आबद्ध गुरुङ नेदरल्याण्ड समितिको सदस्य हुँदै २०१५-१७ मा अध्यक्ष बनेका थिए ।
त्यस्तै २०१७–१९ मा एनआरएनए आइसिसी सदस्य हुँदै उनले वर्तमान कार्यकाल २०१९-२१ मा युवा समितिको कोर्डिनेटर जस्तो महत्वपूर्ण पद सम्हालेका छन् । गुरुङले सङ्घका हरेक समिति, गतिविधि र अभियानहरूलाई कुशलतापूर्वक नेतृत्व गर्दै आएका छन् ।
कास्कीस्थित पोखरा महानगरपालिका-२७ रिठ्ठेपानी घर भएका उनले उम्मेदवारी घोषणापछि गैर आवासीय नेपालीहरूको भूमिका अझ फराकिलो भएको हुनाले देशप्रति आफ्नो जिम्मेवारी र दायित्व बढेको प्रतिक्रिया दिए ।
हरेक विपद्का साथै समस्या परेका बेला देश तथा विदेशमा रहेका नेपालीहरूलाई विभिन्न रूपमा सहयोगसमेत गर्दै आएका उनले आफूले बोलेको कुरा पूरा गरेर देखाउने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।