प्रदेश ३

दैलेखमा दुई अध्यक्षसहित ६ जनप्रतिनिधि समाजवादीमा खुले

By Thah Online

August 23, 2021

दैलेख । दैलेखमा नेकपा एमाले विभाजन भएसँगै ११ वटा स्थानीय तह रहेको जिल्लामा दुई जना उपप्रमुख, दुई अध्यक्षसहित ६ जना नेकपा समाजवादीमा (माधव नेपाल समूह) खुलेका छन् ।

समाजवादीमा खुल्ने मध्येमा चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही (खत्री), नारायण नगरपालिकाकी उपप्रमुख सावित्री मल्ल, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, महावु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाही रहेका छन्।

यस्तै महावु गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढा पनि समाजवादीमा खुलेकी छन् भने ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह पनि समाजवादी पार्टीमा खुलेकी छन्। यसअघि माधव नेपाल समूहमै रहेका चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले तटस्थ बसेका छन्।

माधव समूहकै नेतामा रुपमा चिनिएका ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाही भने अहिले ओली पक्षमा लागेका छन्। उल्लेखित जनप्रतिनिधिहरू शनिवार नेकपा समाजवादीको जिल्ला भेलामा समेत सहभागी भएका कर्णालीको भौतिक पूर्वाधार मन्त्री समेत रहेका नेकपा समाजवादीका नेता अम्मरबहादुर थापाले बताए। चामुण्डा बिन्द्रासैनी नगरपालिकाकी उपप्रमुख ताराकुमारी शाही (खत्री)ले विगत देखिनै आफू माधव नेपाल पक्षमा रहेको बताइन्।

सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै गत फागुन २३ मा एमाले ब्युँताए पछि विभिन्न राजनीतिक र साङ्गठनिक मुद्दामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल बिच बढ्दै गएको मतभेद विभाजन सम्म पुगेको हो।