टप फिचर

राप्तीमा पशु पंक्षि उपचार केन्द्रद्वारा नवनिर्मित भवनबाट सेवा सुरु

By Thah Online

August 24, 2021

मौरिघाट(देउखुरी दाङ) । राप्ती गाउँपालिका पशु सेवा शाखाले पशु पंक्षि उपचार आफ्नै भवनबाट सेवा सुरु गरेको छ । वडा नं ४ को गोपीनालामा रहेको पशु पंक्षि उपचार केन्द्रको नवनिर्मित भवन वाट सेवा सुरु गरेको पशु सेवा शाखा प्रमुख शेर बहादुर हमाल रिजालले जानकारी दिनु भएको छ ।

पशु पंक्षि उपचार केन्द्रले पशु सेवा प्राविधिक, पशु स्वास्थ्य प्राविधिक, नायव पशु स्वास्थ्य प्राविधिक गरी ५ जना कर्मचारी सहित आफ्नै भवनबाट निःशुल्क सेवा दिन सुरु गरेको रिजालले जानकारी दिनु भएको छ ।

गोपीनालामा रहेको पशु पंक्षि उपचार केन्द्रमा निःशुल्क रूपमा पशु पंक्षिहरुको गोवर परीक्षण, आन्तरिक बाहिरी परजीवीको उपचार, पशु पंक्षि सम्बन्धी सम्पुण रोगको उपचार, खोप सेवा, बन्ध्याकरण सेवा, कृत्रिम गर्भधारण सेवा, परामर्श सेवा नियमित रूपमा सञ्चालन र्भईरहेको पशु स्वास्थ्य प्राविधिक कमल पुन मगरले जानकारी दिनु भएको छ ।

पशु सेवा शाखा प्रमुख शेर बहादुर हमाल रिजालका अनुसार शाखाले नियमित रूपमा हिउदे र वर्षे घाँसका बिउ, बेर्ना वितरण गर्दै आएको बताउँदै कृषक दाजु भाइ दिदी बहिनीहरूलाई पशु, पंक्षि  तथा  मत्स्य पालन गर्दा कुनै समस्या आएमा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ । पशु सेवा शाखाले छिटै नै आधारभूत प्रयोगशाला सञ्चालन गर्न लागेको बताउँदै रिजालले यस शाखाले सिसहनिया बाट समेत सेवा दिँदै आएकोले वडा नं ५ को कार्यालयमा रहेको उपचार केन्द्रमा समेत सम्पर्क गर्न पशु पंक्षि पालकलाई अनुरोध गर्नु भएको छ ।

राप्ती गाउँपालिका पशु सेवा शाखाले एक सूचना मार्फत पछिल्लो समय पशु पंक्षिमा लाग्ने सरुवा रोग जस्तै पी पी आर, खोरेत, चरचरे, भ्यागुते रोगको सङ्क्रमण बढ्न सक्ने सम्भावना देखिएकोले पशु पंक्षि ओसार पसार गर्दा खोप लगाएको वा स्वास्थ्य मापदण्ड पुरा गरेको पशु पंक्षि खरिद बिक्री तथा ढुवानी गर्न सबैमा अनुरोध गरिएको छ ।