प्रस्तावित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूहरूको पार्टीमा आउन चाहने एमाले नेताहरूका लागि ढोका खुलै रहेको बताएकी छन् ।
बुधवार निर्वाचन आयोगमा पार्टीका नेताहरूको सनाखत प्रक्रिया चलिरहँदा पत्रकारहरूसँग एमालेमा मर्ज भएको मध्यमार्गी धारको विषयमा झाँक्रीले उनीहरूका लागि पार्टीको ढोका खुला राख्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘हामी एक प्रकारको कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण र गौरवपूर्ण बाटोबाट हिँडेका छौँ, यो अभियानमा सहमत हुनेहरू सामेल हुने हो’ ‘हाम्रो चाहनाले को आउने र नआउने भन्ने हुँदैन, त्यही भएर उहाँहरूलाई ढोका ओपन नै राख्नुपर्छ ।’
झाँक्रीले एमालेका मान्छेहरू आयोगमा आएर विभिन्न दबाब दिएको आरोप लगाइन् । साथै आयोगका प्रमुख आयुक्तले पनि पहिलेदेखि पूर्वाग्रह राखेको र अहिले पनि त्यस्तो देखाएको उनको दाबी छ । वामदेव गौतम भने एमालेबाट राजीनामा नै दिएर आउने भन्दै उनका लागि दल बदलको कानुन आकर्षित नहुने झाँक्रीले टिप्पणी गरिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।