राप्तीमा ज्येष्ठ नागरिक दिवा सेवा सुरु



सिसहनिया(देउखुरी दाङ) । दाङ जिल्लाको राप्ती गाउँपालिकामा ज्येष्ठ नागरिकलाई लक्षित गरी दिवा सेवा सुरु भएको छ । ६० वर्ष माथिका नागरिकलाई एकैठाउ राखेर गफगाफ, भेटघाट गर्ने, मनोरञ्जन गर्ने, दुख सुख साट्नेगरि बस्ने व्यवस्थाका साथ दिवा सेवा सुरु भएको हो ।

बुधवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले मसुरीया र सिसहनियामा सञ्चालनमा ल्याइएको दिवा सेवाको उद्घाटन गर्दै ज्येष्ठ नागरिकलाई मनोरञ्जन गर्ने, केहि सिक्ने र धेरै सिकाउने तथा दैनिक जिवनलाई सुखमय बनाउन दिवा सेवाले सहयोग गर्ने बताउँदै आफ्नो घरको फुर्सदलाई सदुपयोग गर्दै दिवा सेवामा सहभागी हुन सबै ज्येष्ठ नागरिकलाई अनुरोध गर्नु भएको छ ।

सार्वजनिक बिदाको दिन बाहेर हरेक दिन दिवा सेवा सञ्चालन हुने बताउँदै गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले घरमा रहनु भएका ज्येष्ठ नागरिकको उचित स्हार गर्ने छोरा, छोरी बुहारी तथा अन्य सदस्यलाई गाउँपालिकाले नियमित रूपमा सम्मान गर्दै आएको बताउँदै हरेक परिवारले आफ्ना घरमा रहनुहुने ज्येष्ठ नागरिकलाई दिवा सेवामा सहभागी गराइदिन समेत अनुरोध गर्नु भएको छ ।
सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा भएको दिवा सेवाको उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, वडा अध्यक्षहरू चन्द्र चौधरी, गोवर्धन रावत, वेद प्रसाद चौधरीले ज्येष्ठ नागरिकको सम्मानका लागि दिवा सेवा प्रभावकारी बन्ने बताउनु भएको छ ।

दिवा सेवामा ज्येष्ठ नागरिकका लागि अध्ययनका पाठ्यपुस्तक, मनोरञ्जनका लागि वाद्य वादन सामाग्री र खाजाको रूपमा स्वास्थ्य वर्धक खाजाको व्यवस्था गरिएको महिला विकास निरीक्षक जीवन जिसीले बताउनु भएको छ । राप्ती गाउँपालिका महिला बालबालिका, अपाङ तथा ज्येष्ठ नागरिक शाखाले राप्ती गाउँपालिका क्षेत्रका ज्येष्ठ नागरिकलाई पायक पर्ने गरी मसुरीया र सिसहनियामा दिवा सेवा सुरु गरिएको र यो सेवा नियमित रूपमा सञ्चालन हुने सहायक महिला विकास निरीक्षक कल्पना खनालले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्