काठमाडौँ । पार्टी फुटपछि नेकपा एमालेको पहिलो केन्द्रीय समिति बैठक बिहीबार बस्दै छ। दुई दिनअघि तेस्रो धारका नेताहरूसहित बसेको स्थायी समिति बैठकले आजको बैठक तय गरेको हो । लामो समयसम्म वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरूले पार्टी विभाजन गर्ने उनको निर्णयमा साथ दिएनन् । स्रोतका अनुसार यसअघि नेपाल पक्षमा रहेका एमालेका २० जना केन्द्रीय सदस्य एमालेतर्फ लागेको छन् ।
एमाले उच्च स्रोतले उपलब्ध गराएको सूचीअनुसार अरुण नेपाल, रचना खड्का, रविन कोइराला, परशुमेघी गुरुङ, जीवन घिमिरे, धर्म निरौला, यज्ञराज सुनुवार, नरेश खरेल, हरिबहादुर राई र भास्कर काफ्ले पनि एमालेमै आबद्ध हुने भएका हुन् । नेपाल पक्षका अरू थप नेता पनि एमाले तिरै आउने क्रम जारी रहेको उच्च स्रोतले दाबी गरेको छ ।
यसै गरी भानुभक्त जोशी, झपट रावल, राजबहादुर बूढा, ठाकुर गैरे, रवीन्द्र अधिकारीलगायत नेता एमालेमै रहने भएका हुन् । यस्तै, नीरज आचार्य, श्रीमाया थकाली, सीता गिरी ओली, माधव अर्याल, सुरेन्द्र मानन्धर पनि एमालेमै बस्ने भएका हुन् । उनीहरू आज बस्न लागेको एमाले केन्द्रीय समिति बैठकमा सहभागी हुँदै छन् । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।