महोत्तरीका सुकुम्वासी डुम परिवार समाजमा जरा गाडेको छुवाछुत र चरम विपन्नताको मारमा



महोत्तरीको सम्सी गाउँपालिका-५ सङ्ग्रामपुर पोखरभिण्डाका नारायण मल्लिक (डुम) सुकुम्वासी हुन्। तर, उनको आफ्नै झुपडी भने छ।

स्थानीय रामजानकी कुट्टीको जग्गामा खर, पराल, त्रिपाल लगाएर बनाएको झुपडीमा उनको परिवार जसोतसो बसिरहेको छ। तर वर्षको चार महिना भने उनलाई झुपडीमा गुजारा गर्न निकै सकस हुन्छ ।

वर्षा याममा झुपडी भेलमा डुब्छ। अनि उनीहरूको बास हुन्छ सडकमा। अहिले नारायणको परिवार सडक पेटीमा त्रिपाल टाँगेर गुजारा गरिरहेको छ।

यति बेला घरको अगाडि सडक पेटीमा त्रिपाल र थाङ्नाथरा टाँगेर ओत लाग्ने दुई वटा टेन्टमा मल्लिक परिवार दुई साताको शिशुसहित बसिरहेका छन् । घर छाडेर सडक पेटीमा त्रिपाल झुण्ड्याएर वर्षको चार महिना काट्नु मल्लिक परिवारको रहर होइन, बाध्यता हो। यो हरेक वर्ष दोहोरिने नियति पनि हो।

नारायण मल्लिकको घर वर्षा याम सुरु भएसँगै डुबानमा पर्छ । वर्षाको पानीको निकास नहुँदा घरसहित दैलोसम्म दुई फिट पानी जम्छ। यो समस्या त्यो बस्तीमा नारायणको परिवारलाई मात्रै छ। गाउँमा अरू सबै उनीभन्दा कथित उच्च जातिका मानिस छन्। उनीहरूलाई घर डुबानमा पर्ने समस्या छैन।

नारायणको परिवारमा श्रीमती जयादेवी, छोराहरू जेठो अशेश्वर, माहिलो सोनिल र कान्छो विकेस छन् । जेठो र माहिलाको बिहेबारी भइसकेको छ। जेठी बुहारी रञ्जु र माहिली विभा छन्।

दुई हप्ता अघि नारायणकी जेठी बुहारीले त्रिपाल भित्रै छोरालाई जन्म दिइन्। वर्षाको बेला त्रिपालभित्र राम्ररी स्याहार नहुँदा शिशु बिरामी परेका छन्। वर्षाको मौसम भएकाले विषालु सर्पको डर उत्तिकै छ।

राति खाना खाएर सुत्न नारायणका पतिपत्नी नजिकै रहेको रामजानकी मन्दिरको कुट्टीमा जान्छन्। कान्छो छोरा सोनिल घरभन्दा तीन सय मिटर पर काका पर्ने सम्भुको घर पुग्छन्।

‘घर डुबानमा परेको छ। त्रिपाल दुई वटा मात्रै छ । दुबैमा जेठो र माहिलो छोराबुहारी बस्छन्,’ आमा जयाले भनिन्,  ‘सुत्ने ठाउँ नभएर हामी बुढाबुढी राति खाना खाएर कुट्टीमा रात बिताउँछौँ।  कान्छो छोरो सुनिल दियाद पर्ने सम्भुको घरमा जान्छ।’

म्रकृतिको विपत्तिमा परेका डुम परिवार समाजमा जरा गाडेको छुवाछुत र चरम विपन्नताको मारमा छन्। यो विपत्तिमा पनि उनीहरू सफा पिउने पानीबाट समेत वञ्चित छन्।

मल्लिक परिवारको आफ्नो चापा कल डुबानमा परेको छ । छरछिमेक सबैको घरमा कल छ। तर कथित उपल्ला जातका छरछिमेक डोमबाट छोइन्छ भनेर चापाकल छुन समेत दिँदैनन् । त्यस कारण डुबानै परेको चापाकलको फोहोर पानी खान बाध्य छन् मल्लिक परिवार।

‘छोइन्छ भनेर हामीलाई गाउँका कसैले पानी भर्न दिँदैनन् । हाम्रो चापाकल डुबानमा छ । फोहोर पानी आउँछ। त्यसमाथि छेउमै छिमेकहरूको भैँसी गोठ छ।  पानीलाई अझ फोहोर बनाएको छ,’ जयाले पीडा सुनाइन्, ‘पानीमा गोबर गनाउँछ। तर त्यही पानी खाइरहेका छौँ।’

गरिबीको चरम चपेटामा परेका सकुम्बासी मल्लिक परिवार समाजबाट अपहेलित र बहिस्कृत त छन् नै, तीनै तहका सरकारको दृष्टिमा समेत पर्न सकेका छैनन्।

बाँसको सामग्री चंगेरा, बैना र टाट बुनेर साँझ बिहानको छाक टार्ने गरेको  जय बताउँछिन्। चरम विपन्नताको कारण माटोसमेत भर्न नसक्दा वर्षेनी घर डुबानमा पर्ने गरेको उनको गुनासो छ। तर उनीहरूको मतले चुनाव जित्ने सङ्घ, प्रदेश र स्थानीय तहका कुनै पनि मन्त्री, सांसद, मेयर र वडाध्यक्षलाई उनीहरूको समस्याप्रति वास्ता छैन।

‘विपन्नताले हामीलाई साँझ बिहान छाक टार्नै मुस्किल छ। घर डुबानबाट बचाउन त्यत्रो माटो कसरी किनेर ल्याउनु,’ जया भन्छिन्,  ‘हामी जस्ता परिवारको लागि कुनै सरकार छैन। चुनावको बेला भोट माग्न आउँदा अनेक आश्वासन बाँड्छन्। जितेपछि बिर्सिन्छन्। तिमीहरूको के समस्या छ भनेर कसैले एक शब्द पनि सोध्दैनन्।’

दुई साताअघि त्रिपालको टहरामा बुहारीले नाति जन्माउँदा निकै कष्ट भएको उनले सुनाइन्। ‘यो बर्खामा राम्ररी स्याहार गर्न नसक्दा नाति पनि बिरामी छ, उपचार गर्न लैजान पैसा छैन,’ उनले भनिन्।

हरेक वर्ष घर डुबान हुँदा मल्लिक परिवारले असहस्य पीडा खेप्नु परेको स्थानीय सितम देवी साहले बताइन्। उनीहरूको समस्याप्रति कुनै पनि सरकारी निकायले चासो नदेखाएको उनको भनाई छ।

वडाध्यक्ष पुन राय यादव वर्षाको कारण माटो ल्याउन नसक्दा मल्लिक परिवारलाई डुबानबाट जोगाउन नसकिएको बताए।  ‘गत वर्ष हामीले मल्लिक परिवारलाई सहयोग गरेका थियौँ । तर यस वर्ष वर्षाको समयमा माटो भेट्नै समस्या भएकाले खाडल पुर्न सकेनौँ,’ उनले भने, ‘मल्लिक परिवारको समस्याले हामी पनि चिन्तित छौँ। कुनै समाधानको उपाय निकाल्छौँ।’

शैलेन्द्र महतोले लेखेको समाचार नेपालखबरबाट जस्ताको त्यस्तै साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्