काठमाडौँ । रोजगारीका लागि बिदेसिएका नेपालीले गत आर्थिक वर्षमा मात्र ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ बराबर रेमिट्यान्स पठाएका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेर ९६१ अर्ब ५ करोड पुगेको हो । यस्तो आप्रवाह अघिल्लो आर्थिक वर्षमा ०.५ प्रतिशतले घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । यस प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह बढेको , मुद्रास्फिति नियन्त्रणभित्र रहेको, व्यापार घाटा बढ्दै जाँदा शोधान्तर वचत घट्दै गएको देखाइएको छ ।
आयातको अनुपातमा निर्यात बढ्दा नसक्दा चालु खाताको घाटा तीव्र रूपमा बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष कोभिड- १९ कारण आर्थिक गतिविधि ठप्प हुँदा ३३ अर्ब रुपैयाँ मात्रै घाटामा रहेको चालु खाता गत वर्षकोअन्त्यसम्ममा बढेर ३ खर्ब ३३ अर्ब पुगेको छ ।
गत वर्षको वार्षिक औसत मुद्रास्फीति ३.६ प्रतिशत रहेको बताइएको छ । यसैगरी आयात २८.७ प्रतिशत र निर्यात ४४.४ प्रतिशतले बढेको देखाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्राह ९।८ प्रतिशतले बढेर ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ भित्रिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।