काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन क्रममा उत्पन्न हुने समस्या समाधान गर्न कार्यदल गठन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको आन्तरिक विवाद समाधान गर्न भएको १० बुँदे सहमतिलाई जनवर्गीय संगठनहरुमा पनि कार्यान्वयन गर्न ४ सदस्यीय कार्यदल गठन भएको हो ।
महासचिव ईश्वर पोखरेलेको नेतृत्वमा बनेको कार्यदलमा उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र स्थायी समिति सदस्य टोपबहादुर रायमाझी रहेका छन्। ‘केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयनका लागि तयार भएका कार्यतालिका अनुमोदन गर्दै एकता प्रतिबिम्बित हुने गरी सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ,’ नेता प्रदीपकुमार ज्ञवालीले भन्नु भयो ।
कार्यदलले सबै जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी बनाउने र त्यसलाई आवश्यक परे अर्को कार्यदले सहजीकरण गर्ने ज्ञवालीले बताउनु भयो । मंगलबार बसेको स्थायी समितिको बैठकले बनाएको कार्यदललाई पनि केन्द्रीय समिति बैठकले अनुमोदन गरेको उँहाले बताउनु भयो ।
स्थायी समितिको मंगलबारको बैठकले १० बुँदे सहमति कार्यान्वयनका लागि भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, धनश्याम भुसाल, लेखराज भट्ट र सुरेन्द्र पाण्डे सम्मिलित कार्यदल गठन गर्ने निर्णय गरेको थियो। केन्द्रीय समितिको बिहीबारको बैठकले जनवर्गीय संगठनहरुमा १० बुँदे सहमति कार्यान्वयन गर्न गठन गरेको कार्यदललाई रावल नेतृत्वको कार्यदलले आवश्यक सहजीकरण गर्ने ज्ञवालीले जानकारी दिनु भयो ।
बिहीबारको केन्द्रीय समिति बैठकले असोज ४, ५ र ६ गते विधान महाधिवेशन र मंसिर १०, ११ र १२ गते राष्ट्रिय महाधिवेशन गर्ने स्थायी समितिको बैठकको निर्णय अनुमोदन गरेको पनि ज्ञवालीले जानकारी दिए। १० महाधिवेशनको कार्यतालिकाअन्तर्गत कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन हुने ज्ञवालीले जानकारी दिनु भयो ।
बैठकले निर्वाचन आयोगको भूमिका निष्पक्ष नभएको भन्दै आयोगले दल दर्ताको क्रममा निर्वाह गरेको भूमिकाविरुद्ध कानूनी संघर्ष गर्ने ज्ञवालीले बताउनु भयो । ‘उपस्थित नभएका व्यक्तिको सनाखत स्वीकृत गर्ने काम भएको छ। कारबाहीको सूची पठाउँदा पनि तिनीहरूलाई पनि मान्यता दिइएको छ। यसविरुद्ध हामी कानुनी लडाइ गर्छौं,’ उँहाले भन्नु भयो ।
यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पनि सांसदहरूलाई कारबाहीको सूची टाँस नगरी आफ्नो भूमिकाबाट च्युत भएकाले संसदीय रूपमा प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ । बैठकले एमाले त्याग गरेकाहरूलाई कारबाही गर्दै नेकपा एकीकृत समाजवादी छोडेर एमालेमा आउन चाहे विगतकै भूमिका दिने निर्णय गरेको ज्ञवालीले बताउनु भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।