हट्यो दियालो र टुकी बाल्ने बाध्यता, स्विच थिच्यो कि बत्ती बल्यो!



दाङ । स्थानीय सरकारले घरघरमा सोलर बत्ती जडान गरी दिएपछि राप्ती गाउँपालिका वडा नम्बर १ बगा सोती खर्कका स्थानीयको खुसीको सीमा छैन । राप्ती गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयले बगा सोती खर्क गाउँका प्रत्येक घरघरमा सोलर बत्ती जडान गरिदिएको छ । वडा अन्तरगतको अति बिकट क्षेत्र भनेर चिनिने त्यस बस्तीमा १३ घरधुरीको बसोबास छ ।

वडा कार्यालयले गाउँवासीको बाध्यात्मक प्रस्थितिलाई मध्यनजर गर्दै उज्यालो बस्ती निर्माणमा अग्रसर भएको हो । गत आर्थिक वर्ष २०७७/०७८ को २ लाख रकम खर्च गरेर वडा कार्यालयले १३ वटा घरहरूमा निःशुल्क सोलर बत्ती जडान गरिदिएको छ । बिकट बस्तीमा बसोबास गरिरहेका वडावासीलाई वडा सरकारको प्रत्याभूति दिलाउन उज्यालो अभियान चलाइएको राप्ती गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तारा बहादुर डिसीले बताए ।

भूगोल ठुलो र पहाडी तथा बिकट पनि उत्तिकै भएकाले बिजुली नपुगेको त्यस बस्तीमा विकल्पका लागि सोलर बत्ती जडान गरिनु परेको वडाध्यक्ष डिसीले बताए । “बिजुली बत्ती बिस्तारका लागी हामीले पहल थालेका छौँ, अहिले भने उज्यालो बिनाको बाध्यात्मक प्रस्थितिलाई सहज बनाउन प्रयास गरिएको हो वडाध्यक्ष डिसीले भने-घर उज्यालो सँगै मोबाइल चार्जका लागि सडकमा आउनुपर्ने बाध्यता भने अहिले हटेको छ ।”

भालुबाङ प्युठान सडक खण्ड देखी ६ सय मिटर उत्तर भित्र पर्ने यस बस्तीमा साँच्चिकै अहिले सम्म बिजुली पुगेको छैन । सल्लाको दियालो र टुकी बत्ती बालेर बाध्यात्मक प्रस्थितिबाट गुज्रिएका यस बस्तीका बासिन्दा मोबाइल चार्जका लागि पनि सडक छेउको बस्तीमा झर्नु पर्थ्यो । तर वडा कार्यालयले सोलर जडान गरिदिएपछि घर उज्यालो हुनुका साथै चार्ज गर्न तथा रेडियो घरमै सुन्न सक्ने भएका छन् ।

वडा कार्यालयले घरमा सोलर बत्ती जडान गरिदिएपछि दियालो र टुकी बाल्ने बाध्यता हटेको स्थानीय चेतमान बुढा मगरले बताए । “अस्ति सम्म सल्लाको दियालो र टुकी बाल्थ्यौ, अहिले त घरमा बत्ती बलेको छ चेतमानले भने-स्विच थिच्यो कि बत्ती बल्यो, बत्ती बाल्न पाएकोमा अत्यन्त खुसी लागेको छ ।” मगर समुदायको बाहुल्यता रहेको त्यस बस्तीका प्रत्येक घरमा २० वाट क्षेमताको सोलर जडान गरिएको छ । जसले ५ वटा बल्भ जलाउन सक्ने छ भने मोबाइल, रेडियो चार्ज गर्न पनि पुग्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्