एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहीबार साँझ भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ६० पुगेको छ । रुसी समाचार माध्यमका अनुसार दुई वटा शक्तिशाली बम विस्फोटमा परेर मृत्यु हुनेको सङ्ख्या ६० पुगेको हो ।
घटनामा १४० भन्दा बढी घाइते भएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मारिनेमा अमेरिकी सैनिकहरू पनि रहेको पुष्टि गरेको बीबीसीले जनाएको छ । विस्फोटमा ११ अमेरिकी मरिन (सैनिक) र एक नेभीका स्वास्थ्यकर्मी रहेका छन् ।
सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो हमला हो । सन् २०११ को अगस्तमा टांगी उपत्यकामा अमेरिकी सेना चढेको हेलिकप्टरलाई तालिवानले खसाल्दा ६० जना सैनिकको मृत्यु भएको थियो ।
स्थानीयका अनुसार बिहीबार साँझ हमिद कारजाई विमानस्थलको अब्बे गेटमा पहिलो विस्फोट भएको थियो । त्यसपछि एयरपोर्ट नजिकै ब्यारन होटल क्षेत्रमा विस्फोट भएको थियो । जहाँ बेलायती सैनिक बस्दै आएका थिए ।
सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै थिए । त्यसको केही समय पछि गोली चलेको आवाज आयो । केही मिनेटको अन्तरालमा ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन भयो ।
अहिले काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । हजारौँ विदेशी काबुल छाड्ने तयारीका लागि विमानस्थलमा जम्मा भएका छन् । हिजोको घटनाले उद्धार कार्य प्रभावित हुने होकि भन्ने चिन्ता थपिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।