स्वास्थ्य मापदण्ड पालना गरी सिरहाका संस्थागत विद्यालय सञ्चालनमा 



सिरहा –  लाहान लगायत जिल्ला भरिका निजी तथा संस्थागत विद्यालयहरू आज बिहीबार देखि सञ्चालनमा आएका छन् । स्वास्थ्य मापदण्ड पालना गरी हाल कक्षा ६ देखि कक्षा १२ सम्मको पठनपाठन  हुने जानकारी एक पत्रकार सम्मेलनमार्फत गराइएको हो ।

लामो समय देखि विद्यालय बन्द रहेको कारण विद्यार्थीहरूको शैक्षिक र मानसिक स्तर तल झर्दै गएको भन्दै विद्यालय खोल्नुको विकल्प नरहेको वक्ताहरूले बताए ।

प्रत्यक्ष रूपमा पठनपाठन रोकिनुले बालबालिकामा नकारात्मक प्रभाव परेको अभिभावकहरूबाट व्यापक रूपमा गुनासो आइरहेको ,’नेशनल प्याव्सनका केन्द्रिय सल्लाहाकार तथा मेरि चिल्ड्रेन स्कुलका लहानका प्रिन्सिपल पाण्डव हमाल ठकुरीले जनाए ।

हमालले भने ‘ पढाइ रोकिनुको कारणले बच्चाहरू कुलतमा फस्न थालेका छन् साथै कतिपय त मनोवैज्ञानिक रूपमा डिप्रेसनको सिकार बन्ने स्थितिमा छन् । यसले देशकै भविष्य बिगार्ने भएकोले विद्यालय खुल्न लागेको हो । कोभिड–१९ लाई ध्यानमा राखी स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागु गरी विद्यालय सञ्चालन गर्ने कार्यक्रम आयोजकले बताए ।

भदौ ९ गते बुधवार लहान स्थित उद्योग वाणिज्य सङ्घको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराइएको हो । कार्यक्रममा नेशनल प्याव्सनका जिल्ला अध्यक्ष सुदिपकुमार चौधरी र प्याब्सनका जिल्ला अध्यक्ष लालबाबु रायद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै विद्यालय खोल्ने बारे जानकारी गराइएको हो । शैक्षिक संस्था बाहेक अन्य सबै क्षेत्र खुला रहेको भन्दै विद्यालय खोल्नु अति आवश्यक भएको सो विज्ञप्तिमा जनाइएको छ ।

उनले ७७ औँ  जिल्लाको सङ्क्रमण अवस्था हेरेर पढाई सञ्चालन गर्नुपर्ने बताए । हमालको अनुसार विद्यालय सञ्चालनका विषयमा देशको सबै स्थानीय तह, स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूसँग छलफल जारी रहेको र कतिपय जिल्लाहरूमा पढाई सञ्चालित भइसकेको जानकारी गराए ।

उता प्याब्सनका प्रदेश २ अध्यक्ष मुरारी प्रसाद साहले लामो बन्दका कारण बाल मनोविज्ञानमा घातक असर पर्न थालेको बताएका छन् । साहले भर्चुअल कक्षा सिराहाको लागि खासै प्रभावकारी नभएको जिकिर गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्