नवलपरासी पश्चिमको सात वटै स्थानीय तह जलमग्न, क्षतिको विवरण आउन बाँकी (फोटो फिचर)



लगातार अविरल वर्षाको कारणले नवलपरासी पश्चिमको सात वटै स्थानीय तह डुबानको चपेटामा परेको छ। अधिकांश भूभाग जलमग्न भएको छ । जिल्लाको सरावल,प्रतापपुर,पाल्हिनन्दन,सुस्ता गाउँपालिका,रामग्राम,बर्दघाट र सुनवल नगरपालिकाको अधिकांश भूभाग वर्षाको कारणले जलमग्न भएको हो ।

लगातार अविरल वर्षाको पानी निकास नभएको कारणले नै जिल्लाको सदरमुकाम परासी बजार पूर्ण रूपमा डुबानमा परेको स्थानीय पत्रकार हुसेन अन्सारी बताए । झरहि खोलाको सरसफाइ नभएको कारणले गर्दा परासी डुबानमा परेको स्थानीयवासीले बताउँछन् ।

सुस्ता गाउँपालिकाको वार्ड न १ बरुवा बजार पनि यतिखेर पूर्ण रूपमा डुबानमा परेको छ भने त्यहाँका स्थानीय व्यक्तिहरूले आ आफ्नो लत्ताकपडा,खानेकुरा,अति आवस्यक कागजातहरू लिएर कोटेश्वर मन्दिरको अग्लो स्थानमा बसिरहेका छन् । घर र पसलहरूमा पानी पसेर डुबान भएपछि के कति क्षति भएको अहिले यकिन हुन सकेको छैन ।

त्यस्तै नेपालको ऐतिहासिक भूमि नारायणी नदी पारीको गाउँ सुस्तामा पनि नारायणीको बहाव बढेर पानी पसेको छ भने त्यहाँका स्थानीयबासीहरुको खाद्यान्न,लत्ताकपडा र आवश्यक कागजातहरू सहित व्यक्तिहरूलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षित स्थान तर्फ लगिरहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र कुमार जयसवालले जानकारी दिएका छन् ।

वर्षाको पानी निकास नभएर बर्सेनि डुबानको समस्या भोग्न परेको जिल्लाको सदरमुकाम परासी, पाल्हिनन्दन गाउँपालिकाका शंकरपुर,रामपुर खडौना,सरावलको डुबन्तापुर,पुसौली,भुजहवा र प्रतापपुरको वार्ड न ३ र ४, सुस्ताको वार्ड न १ बरुवा र नदीपारिको गाउँ सुस्ता लगायत अन्य स्थानहरू यतिखेर जलमग्न भएको दृश्य देख्न सकिन्छ ।

पाल्हिनन्दनको झरहि खोला र सरावलको धनेवा खोला सरसफाइ नभएको कारणले सरावल र पाल्हिनन्दनको आधा दर्जन भन्दा बढी गाउँहरु डुबानको पिडा खेप्दै आएको र डुबानको समयले गर्दा उनीहरूले खाद्यान्नको अभाव,खानेपानी,आवतजावत र सर्पको बिगबिगी जस्ता सास्ती भोग्न परिरहेको अवस्था छ । सुनवल नगरपालिकाको पनि विभिन्न क्षेत्र डुबानमा परेको छ । सुनवल-१० भुडिया टोल डुबानमा परेको छ । वर्षाका कारण सुनवल  नगरपालिकाको वडा नम्बर ३ मा पनि डुबान भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनवल स्थित तुरियाखोलाको पुल उच्च जोखिममा परेको छ । अहिले पुलबाट सवारीसाधन आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ । पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा विभिन्न ठाउँमा बनाइएका डाइभर्सनहरूमा बाढी बगेका कारण यातायात सञ्चालन हुन सकिरहेको छैन ।

त्यस्तै बर्दघाट नगरपालिकाको विभिन्न ठाउँहरू पनि डुबानमा परेका छन् । वडा नम्बर ४ को स्मृतिनगरमा रहेको मुसहर बस्ती डुबानमा परेको छ । वडा नम्बर  ६ मा पनि डुबान भएको छ । वडा नम्बर १० धुर्वटोल,वार्ड न ११ को विजयपुर, भगजोगनी, गैडाहा, मौराटारी क्षेत्रका बस्ती डुबानमा परेको स्थानीयले जानकारी दिए । त्यसै गरी प्रतापपुर गाउँपालिकाको डिबनी,बर्दघाटे, फटकीटोल, पिडरी, बर्गदवा, लगायतका गाउँमा पानी बसेको डिबनीका स्थानीय पिडित सदरी गुप्ताले जानकारी दिए ।

अविरल वर्षाको कारणले जिल्लाको अधिकांश स्थानहरू डुबानमा परेपछि गएरातीको १ बजे र २१ मिनेट देखि विभिन्न स्थानहरूमा उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरू परिचालन गरी उद्धार टोली खटाएको,डुबानबाट भएको क्षतिको विवरणहरू आइरहेको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय परिसर पनि डुबानमा परेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमका प्रमुख धर्मेन्द्र कुमार मिश्रले बताए । बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्