चितवन । केही दिनयता देशैभर भइरहेको निरन्तर वर्षाका कारण विभिन्न नदीहरूमा पानीको बहाव बढ्दो क्रममा रहेको छ । चितवनको नारायणी नदीमा पनि पानीको बहाव बढेर सतर्कता तह नाघेको छ ।
नारायणी नदीले सतर्कताको तह पार गरेसँगै चितवन प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । अहिले नारायणी नदीमा जल सतह बढेर ७ मिटरको सतर्कता तह पार गरेको छ । अहिले नदी ७.३३ को तहमा बगिरहेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनु भयो ।
उहाँले नारायणी नदीले सतर्कता तह पार गरेर खतराको तह ९ भन्दा माथि पुगेमा धनजनको क्षति हुन सक्ने भन्दै सतर्क रहन अपिल गर्नु भएको हो । चितवन र नवलपरासीको तटीय क्षेत्रका बासिन्दाले दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गर्नु भएको छ । बाढीका कारण हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै आफूहरू तयारी अवस्थामा रहेको उहाँको भनाई रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।