नवलपरासी । नवलपरासीमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । बाढीले बगाएर एक जना बेपत्ता भएका छन्।
मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए। सुनवल नगरपालिका–१४ की एलिसा तामाङ बेपत्ता भएकी हुन्।
मृत्यु हुने बुवा विनोद र छोरा प्रदीपलाई घरमा पसेको बाढीले बगाएको र उनीहरूको डुबेर मृत्यु भएको जनाइएको छ । दुवैको शव बाढीले बगाएर खेतमा पुर्याएको थियो । तर, बाढीले बेपत्ता भएका तामाङको शव भने अहिलेसम्म फेला नपारिएको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
बिहीबार रातिदेखि परेको अविरल वर्षाले नवलपरासी सदरमुकाम परासी बजार डुबानमा परेको छ भने सयौँ घर डुबानमा परेको छ । नवलपरासीका सबै बजार जलमग्न भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।