घटनामा संलग्नहरू पक्राउ नपरेपछि स्वास्थ्य कर्मीहरुले दिए प्रहरी कार्यालयमा धर्ना



भदौ १२ दाङ, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि कालो मोसो दलेको २४ घण्टा बित्दा पनि घटनामा संलग्नहरू पक्राउ नपरेपछि स्वास्थ्य कर्मीहरुले प्रहरी कार्यालयमा धर्ना दिएका छन् । अस्पताल विकास समितिका पदाधिकारी, कार्यरत चिकित्सकलगायत सम्पूर्ण कर्मचारी, अन्य निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले संयुक्त रुपमा आज शनिवार दिउसो १ बजेदेखि साढे १ बजेसम्म इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् ।

प्रहरीले नै यस विषयमा चासो नदिएको उनीहरूको आरोप छ । शुक्रवार दिउसो पौने २ बजेतिर सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित ४/ ५ जना युवाहरूले डा. सिंह माथि दुर्व्यवहार गरेका थिए । अस्पतालमा कल्चर सेवा नभएको विषयमा विवादले उग्र रूप लिएपछि परियारसहितको टोलीले शुक्रवार डा. लाई कालो मोसो दलेका थिए ।

साथै आज १ बजेदेखि अस्पतालमा कालो पट्टी बाँधेर स्वास्थ्यकर्मीहरुले इमरजेन्सी सेवा दिने समेत निर्णय भएको अस्पतालका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए । यदि घटनाका विषयमा स्थानीय प्रशासनले चासो नदिए भोलि(आइतबार) बिहान ८ बजे विरोध स्वरूप बजार परिक्रमण गर्ने समेत निर्णय भएको उनले बताए । यदि घटनामा संलग्नहरू पक्राउ नगरेमा अन्य आन्दोलनका कार्यक्रमहरू आइतबार सार्वजनिक गरिने उनको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्