गुण्डागर्दी शैलीमा कालोमोसो दलेर गए: डा विनोद सिंह

दोषि माथि कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलित, आकस्मिक बाहेक अन्य सेवा बन्द


काठमाडौं । शुक्रबार दिउसो एक व्यक्ति टाइफाइडको उपचारका लागि भन्दै दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुगे । उनी सहित ६ जना युवाहरुको समूह पनि अस्पताल पुगेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा विनोद सिंहले ती व्यक्तिको परीक्षण गरे । तर ती व्यक्तिमा त्यस्तो कुनै स्वास्थ्य समस्या देखिएको थिएन । तर पनि उनीहरुले टाइफाइडको उपचारका लागि ‘ब्लड कल्चर’ गर्ने बताए । तर त्यो सुविधा अस्पतालमा थिएन।

मेसु डा सिंहले भने, ‘शुक्रबार दिउँसो साढे एकदेखि पौने दुई बजेको बीचमा एक जना व्यक्ति बिरामी भएको भन्दै अस्पताल आएका थिए। बिरामी भनेर आएपनि ती व्यक्ति बिरामी जस्तो देखिएका थिएनन्।’

आफूले यो सुविधा अस्पतालमा नभएको भनेपनि उनीहरुले विवाद गरेका थिए। उनी ओपिडीमा ती व्यक्तिलाई हेरेपछि आफ्नो कार्यकक्ष तर्फ जाँदै थिए। ती युवाहरुको समूह पनि डा मेसुको कार्यकक्ष तर्फ नै ‘केही कुरा गर्नु छ’ भन्दै आए।
उनले पनि केही जिज्ञासा होला भन्ने सोचेर कुरा गर्न थाले। तर कुराकानीकै बीचमा उनीहरुले गुन्डागर्दी शैलीमा कोलोमोसो दलेर भागेको मेसु सिंहले बताए।

‘ओपिडीमा बिरामी हेरेर सकेपछि म आफ्नो कार्यकक्ष तर्फ जाँदै थिए। उहाँहरुले केही कुरा गर्न छ भनेर मलाई बोलाउनु भयो।’ उनले भने, ‘मैले यस्तो घटना होला भनेर सोचेको थिइन। कुरा हुँदा हुँदै बीचमै गुन्डागर्दीको शैलीमा मलाई कालोमोसो दलेर भागे।’
मेसु सिंहका अनुसार कालोमोसो दल्ने अनेरास्ववियुका सर्जन परियार सहित ६ जना युवाहरुको समूह थियो ।

घटनापछि हाल राप्ती अस्पतालको आकस्मिक बाहेक अन्य सबै सेवा बन्द छन्। स्वास्थ्कर्मीहरु दोषि माथि कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। हालसम्म दोषि पक्राउ नपरेको मेसु सिंहले जानकारी दिए। दोषि माथि कारबाही नभएसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन्।

‘अहिले अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेर हामी आन्दोलनमा छौँ। दोषिलाई सकेसम्म छिटो कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ’ उनले भने।

यस किसिमको घटनाले आफुहरुको मनोबल गिराउने काम भएको उनी बताउँछन्। कोभिड महामारीमा ज्यानको जोखिम मोलेर काम गरेपनि आफुहरु असुरक्षित भएको उनीहरुको गुनासो छ। अस्पतालमा ढुक्कसँग काम गर्ने वातावरण नभएको मेसु सिंहले बताए।
नेपाल चिकित्सक संघले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषि माथि कारबाहीको माग गरेको छ। संघले एक विज्ञप्ति जारी गरी कोभिड महामारीमा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च पार्नुको सट्टा गिराउने काम भएको जनाएको छ। घटनाको सत्यतथ्य छानबीन गरी दोषिलाई कानूनी कारबाही गर्न संघले माग गरेको छ।

त्यसदिन के भएको थियो ? मेसु सिंहले बताएका कुरा यहाँ प्रस्तुत गरिएको छः
शुक्रबार दिउसो साढे एकदेखि पौने दुई बजेको बीचमा घटना भएको हो। एक जना व्यक्ति बिरामी भएको भन्दै अस्पताल आएका थिए। बिरामी भनेर आएपनि ती व्यक्ति बिरामी जस्तो देखिएको थिएन।

ब्लड कल्चर गर्ने एउटा परीक्षण हुन्छ। यो टाइफाइडको लागि गराउने गरिन्छ। मैले यो सुविधा यहाँ छैन भन्दा भन्दै मसँग विवाद गरे अनि कालोमोसो दलेर गए। सुनियोजित तरिकाले उनीहरुले खल्तीमा कोलोमासो ल्याएका थिए। अनेरास्ववियुका सर्जन परिवारको समूह नै थिए।

कुनै आवश्यक नभएपनि उहाँहरु जबरजस्ती मसँग कुरा गर्न खोजिरहेका थिए। ओपिडीमा बिरामी हेरेर सकेपछि म आफ्नो कार्यकक्ष तर्फ जाँदै थिए। उहाँहरुले केही कुरा गर्न छ भनेर मलाई बोलाउनु भयो। मैले यस्तो घटना होला भनेर सोचेको थिइन। केही कुरा सोध्न आउनु भएको होला भनेर मात्र सोचे। कुरा हुँदा हुँदै बीचमै गुन्डागर्दीको शैलीमा मलाई कालोमोसो दलेर भागे।

कालोमोसो दल्ने ६ जनाको समूह थियो। अहिले अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेर हामी आन्दोलनमा छौँ। दोषिलाई सकेसम्म छिटो कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ। प्रहरीले हालसम्म उनीहरुलाई पक्राउ गरेका छैन।

यस किसिमको घटनाले हामी स्वास्थ्यकर्मीको मनोबल गिराएको छ। हामी ढुक्क भएर काम गर्ने वातावरण छैन। स्वास्थ्यकर्मीले नियमित रुपले काम गर्न सक्ने अवस्था छैन। यस्तो किसिमको घटना हुँदै गए यो अस्पतालबाट सबै चिकित्सक तथा स्वास्थ्यकर्मी पलायन हुने, सेवाको गुणस्तर खस्कदै जाने हुन सक्छ। गुन्डागर्दीलाई प्रोत्साहन दिने हो भने अस्पताल विकास हुनुभन्दा खस्कदै जाने संभावना हुन्छ। कमला गुरुङले  लेखेको यो समाचार स्वास्थ्यखबरबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्