टप फिचर

‘चरी जेलैमा’ ले नयाँ रेकर्ड बनाउन सफल, १३ दिनमै एक करोड भ्यूज

By Thah Online

August 31, 2021

चर्चित लोक गायिका विष्णु माझी अहिले चर्चाको शिखरमा छिन् । एक हप्ता अघि सार्वजनिक भएको नयाँ तिज गीत ‘चरी जेलैमा’ सार्वजनिक भएसँगै उनी चर्चामा आएकी हुन् ।

विष्णु माझीको स्वरमा सजिएको उक्त तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा छोटो समयमै १ करोड भ्यूज पाउन सफल भएको छ । युट्युबमा सार्वजनिक भएको १३ दिनमा मङ्गलवार यस गीतको भ्यूज १ करोड पुगेको हो ।

गीत सार्वजनिक भएको छैटौं दिन २४ घन्टाभित्रै गीतले १० लाख बढी भ्युज पाएको छ। एकै दिनमा यति धेरै भ्युज पाउन सफल यो गीत टिकटकमा भाइरल भइरहेको छ।

भिडिओमा आएका अधिकांश प्रतिक्रिया सकारात्मक छन् । प्रतिक्रियामा गायिका माझीको आवाज सुने मात्र तिज आएजस्तो लाग्ने बताइएको छ । कतिले त यस गीत विष्णु माझीकै कथाको भएको प्रतिक्रिया पनि दिएका छन् ।

बिहे गरेर गएकी छोरीले माइती सम्झेर गाएको गीतमा महिलाको वेदना पोखिएको छ। गीत तीजको सन्दर्भमा निकालिएको हो। सामाजिक सञ्जालमा गीतले बहस पनि छेडेको छ।

सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ । साथै, शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै भिडियोको निर्माण एवम् निर्देशन गरेका हुन् । भिडियोको छायाङ्कन शम्भु चालिसेले गरेका हुन भने भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।

माझीका यसअघि ‘रुमाल हल्लाई हल्लाइ’, ‘सालको पात टपरी’, ‘यो मन रुन्न होला र’, ‘लालु पाते नुघ्यो भुईँतिर’लगायत गीत लोकप्रिय छन्।