सैघाली खबर,
तुलसीपुर ५ फागुन ।
नेवार समुदायको परम्परा अनुसार दाङमा सामुहिक बेल विवहा भएको छ । नेवार समुदायमा रजश्वला नभएकी छोरी–चेलीको बेलसँग विवाह गरिदिने परम्परा रहेको छ । सोही परम्परा अनुसा दाङमा पहिलो पटक सामुहिक बेल विवहा भएको छ ।
नेवार समाज तुलसीपुरको आयोजनामा तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिरमा १८ जन कन्याको विवहा भएको छ । दाङसहित रोल्पा, सल्यानका कन्याहरुको सामुहिक बेल विवहा भएको हो । सूर्य र बेलसँग विवाह नगरी मानिससँग बैवाहिक सम्बन्ध जोड्नु हुँदैन भन्ने मान्यता पनि नेवार समुदायमा छ । जसका कारण यो समुदायमा रजश्वला नहुँदै कन्याको बेलसँग विवाह गराईदिने प्रचलन छ ।
व्रत बसेका बालिकाले भगवान शिवका पुत्र कुमारको स्वरूप मानेर बेलसहित कलश, बज्र र चक्रको पूजा गर्ने र कन्याको बुवाले कन्यादान दिने गर्दछन । नेवार समुदायमा बेल जस्तो भयो भविष्यमा दुलहीको वर पनि उस्तै हुने विश्वास रहेको छ । बेल विवाहपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेर सूर्यदर्शन गर्ने चलन छ । वयस्क भएपछि बरसँग विवाह गराउने गरिन्छ । बेलसँग विवाह भएका महिलाले श्रीमानको मृत्युपछि पनि सिन्दुर लगाउन वाधा नपर्ने मान्यता रहि आएको छ ।
नेवार समुदायको पहिले देखिको चलन रहदै आएपनि दाङका नेवारहरुले भने यस्तो विवहा पहिलो पटक गर्दै छन् । ‘नेवार समुदायको परम्परा देखि वेल विवहा गर्ने चलन रहेको थियो’ नेवार समाज तुलसीपुरका अध्यक्ष नरेश राज भण्डारीले भने‘ तर दाङमा पहिलो पटक यस्तो विवहा गर्न शुरु भएको छ ।’
उनले छोरी–चेलीको बेलसँग विवाह गरिदिए अभिभावकलाई पुण्य प्राप्त हुने वताए । वेल विवाहपछि घर–परिवार र आफन्तले छोरी–चेलीलाई उपहार दिने प्रचलन समेत रहेको उनले वताए । अध्यक्ष भण्डारीले नेवार संस्कृति, परम्परा, भेषभुषा, रहनसहनलाई जोगाउन यस्ता क्रियाकलाप गरिएको वताए । नेवार समुदाय भेषभुषा, रहनसहनको धनी भएको वताउदै यसलाई संरक्षण गर्नु सबैको दायित्व भएको उनको भनाई छ । ‘नेवार संस्कृति, भेषभुषा, पहिचानको धनी हो’ उनले भने ‘ हामीले यसलाई जगेर्ना गरिराख्नु पर्छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।