अन्तरजातीय बिहेका कारण काजकिरियामा पनि विभेद



झापा । अन्तरजातीय बिहेका कारण झापा बिर्तामोडकी सीता ढुङ्गाना २ दशकदेखि विभेद खप्न बाध्य रहनु भएको छ । दलितसँग विवाह गर्नु भएकी उहाँलाई परिवारले निरन्तर अवहेलना गरिरहेको हो ।

आफ्नै बिहेदेखि बाबुको निधनसम्म ढुङ्गानाले विभेदको सामना गर्नु परिरहेको छ । ढुङ्गानाका बाबु धर्मनन्दको गत भदौ ७ गते ९३ वर्षको उमेरमा निधन भयो । तर, सीतालाई बाबुको मुख हेर्न पनि दिइएन । सीताका ४ दिदीबहिनीमध्ये जेठीको पहिल्यै मृत्यु भएको हो। माहिली र कान्छी दाजुभाइसँगै बसेर बाबुको काजक्रिया गरिरहेका छन् । तर, साहिँली सीतालाई भने ढुङ्गाना परिवारले सहभागी गराएका छैनन् । उहाँ बिर्तामोडस्थित आफ्नै घरमा बाबुको काजक्रिया गरिरहनु भएको छ । 

सीताका तीन दाजुमध्ये माहिला र कान्छा शिक्षक छन् । तर, जातीय विभेदविरुद्धको अभियानमा उनीहरूको पनि चेत फिरेको छैन। घरपरिवार र समाजले गरेको विभेद सहन नसकेर पाँचथरको रानी गाउँबाट झापा झर्नु भएकी सीता २१ वर्षदेखि उही नियतिको सामना गरिरहनु भएको छ । श्रीमान् छविलाल विश्वकर्माले उहाँलाई साथ दिनु भएको छ । २०५७ पुस ५ गते उनीहरूको प्रेम विवाह भएको थियो। सीतालाई माइत पक्षले आजसम्म स्वीकार गरेको छैन। 

ढुङ्गानाले बिहेदेखि बुबाको मृत्युसम्म सधैँ अपमान र तिरस्कार भोग्नु परेको छ । उहाँलाई बुबाको मृत्युको खबर सम्म पठाइएन ।फेसबुकबाट बुवा खसेको थाहा पाएको तर आउँछु भन्दा नआउँदा राम्रो भन्दै खबर पटाइएको उहाँ बताउनु हुन्छ  । यो विभेदको अन्त्यहीन शृङ्खला कहिलेसम्म चलिरहने हो, सामना गरिरहने उहाँले बताउनु भयो  । छविलाल आजसम्म ससुराली पुग्नु भएको छैन भने छोरा विपुल २० वर्षको भई सक्दा पनि उहाँको मावली जाने उनको रहर पूरा भएको छैन।

कुसंस्कारविरुद्ध लड्न अहिले पनि मुस्किल रहेको एमाले नेता छविलाल विश्वकर्माको भनाइ छ । संविधानमा सबै समान भनेर लेखियो, तर व्यवहारमा लागु हुन नसकेको उहाँले बताउनु भयो ।

सीता अखिल नेपाल महिलासंघ झापाको कार्यालय सचिव समेत रहनु भएको छ भने छविलाल एमाले झापाका प्रभावशाली नेताका रूपमा रहनु भएको छ ।

सीता दम्पतीले सहनु परेको विभेद निन्दनीय रहेको अखिल नेपाल महिला सङ्घ प्रदेश नं १ की अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो । यो मानवताविरुद्धको अपराध भएकाले विभेदविरुद्ध अझै डटेर लड्न आवश्यक रहेको उहाँको भनाइ छ ।

छविलाल र सीता राजनैतिक रूपमा परिचित नाम  हुन उहाँहरूले त जातीय विभेद भोग्नु परिरहेको छ भने सर्वसाधारणे त के अवस्था होला सहजै अनुमान गर्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्