इजरायलमा केयर गिभर रोजगारका लागि आवश्यक भन्दा झन्डै दश गुणा बढी प्रतिस्पर्धा



काठमाडौँ । इजरायलमा केयर गिभर कामको रोजगारका लागि आवश्यकभन्दा झन्डै दश गुणा बढी प्रतिश्पर्धीबीच प्रतिस्पर्धा हुने भएको छ । इजरायलले १ हजार जना कामदार मागेकोमा त्यसको झन्डै दश गुणा बिच परीक्षा हुने भएको छ । परीक्षा भदौ २८ गते हुँदै छ । विभागले कोरोना महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षामा सहभागी हुन आग्रह गरेको छ ।

सरकारले इजरायल रोजगारीको लागि साउन १२ देखि ३२ गतेसम्म अनलाइन आवेदन आह्वान गरेको थियो । त्यस क्रममा ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । परीक्षा केन्द्र विभागको वेबसाइटमार्फत हेर्न सकिने विभागले जनाएको छ ।

आवेदकहरूको अङ्ग्रेजी भाषाको लिखित परीक्षा हुने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । विभागले सूचना जारी गर्दै आवेदन स्वीकृत भएकाहरूको भौतिक उपस्थितिमा नै परीक्षा गर्ने विभागले जनाएको हो ।

सूचना अनुसार काठमाडौँ उपत्यकामा विभिन्न परीक्षा केन्द्र तोकिएका छन् । दिनको ठिक १ बजे सञ्चालन हुने परीक्षा दुई घण्टाको हुने विभागले जनाएको छ । परीक्षार्थीहरूले परीक्षाको लागि तोकिएको समयभन्दा ३ घण्टा अगावै परीक्षा केन्द्रमा पुग्नु पर्नेछ ।

परीक्षामा सहभागी हुन यसअघि अनलाइन आवेदन दिएर दरखास्त स्वीकृत भएको हुनुपर्नेछ । दरखास्त स्वीकृत भए÷नभएको जानकारी आवेदनकर्ताले अनलाइनमै लगइन गरेर हेर्न सक्छन् ।

विभागले लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अवलम्बन गरेको विधि उपयोग गरिने बताएको छ । इजरायल रोजगारीका लागि सुरुमा १ हजार जना सहायक कामदार लैजाने बताएको छ । त्यसका लागि १ हजार ४ सय जना छनोट हुने छन् । रोजगारी प्रणाली योग्यता प्रणालीमा आधारित हुने विभागले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्