बुटवल — प्रदेश ५ को आइतबार हुने उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । शनिबार भएको मनोनयनमा वाम गठबन्धनबाट एमालेकी कृष्णी थारु र कांग्रेसबाट रिना नेपाल विश्वकर्माको उम्मेदवारी दर्ता भएको हो ।
कृष्णी थारु
बर्दियाकी थारुलाई एमालेले समानुपातिक सांसद बनाएको हो । त्यस्तै कपिलवस्तुकी विश्वकर्मा कांग्रेसबाट समामानुपातिक सांसद हुन् ।
संसद् सचिवालयका अनुसार दुई जनाको उम्मेदवारी परेपछि आइतबार उपसभामुखको निर्वाचन हुनेछ । निर्वाचनका लागि वाम गठबन्धनको स्पष्ट बहुमत छ । सभामुखमा माओवादीबाट पूर्णबहादुर घर्ती मगर निर्विरोध निर्वाचित भएका थिए । गठबन्धनबाट एमालेलाई उपसभामुख परेको थियो । एमालेले थारुको उम्मेदवारी शनिबार बिहान टुंगो लगाएको थियो । एमालेका तर्फबाट मनोनयन दर्ता गरेपछि कांग्रेसले रिनालाई उपसभामुखको उम्मेदवार गराउने निर्णय गरेको हो ।
एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले वाम गठबन्धनबाट संयुक्त उम्मेदवारी दर्ता गरेको बताए ।
रिना नेपाल विश्वकर्मा
थारुको प्रस्तावकमा प्रमुख सचेतक ढकाल र समर्थकमा माओवादीका प्रमुख सचेतक दधिराम न्यौपाने छन् । त्यस्तै कांग्रेसबाट उपसभामुखमा उम्मेदवार बनेकी रिना विश्वकर्माको प्रस्तावकमा कांग्रेसका सुरेन्द्रबहादुर हमाल र समर्थकमा कांग्रेसकै रमा अर्याल छन् ।
उपसभामुख निर्वाचनका लागि सभामुख पूर्णबहादुर घर्तीले आइतबार १ बजे संसद् बैठक बोलाएका छन् । संसद्मा थारुका पक्षमा ८७, वाम गठबन्धनका ६१ मत छ । कांग्रेस उम्मेदवार रिना विश्वकर्माका पक्षमा कांग्रेसका १९ मत छ । ५ मत रहेको संघीय समाजवादी फोरम, राजमोको १ र राजपाको १ मत छ । फोरम, राजमो र राजपाले कस्लाई समर्थन गर्ने भन्ने अझै निर्णय गरेका छैनन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।