सैघाली खबर
काठमाडौं,६ फागुन
एमाले र माओवादी केन्द्रले पार्टी एकता र सरकार विस्तारमा प्याकेजमै सहमति गर्ने भएका छन् । पार्टी एक भएपछि नेताहरु बीच हुनसक्ने जिम्मेवारी विभाजनलाई अहिले नै टुङ्गो लगाएर एकता गर्ने विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुँदैछ ।
हिजो भएको छलफलपछि दुवै विषयलाई प्याकेजमै टुंग्याउने समझदारी भएको हो । दुई पार्टीबीच एकताका लागि सैद्धान्तिक–वैचारिक पक्षमा केन्द्रित रहेर गत बुधबार छलफल भए पनि दुई दिनयता सरकार गठनका कारण स्थगित वार्ता अघि बढ्न सकेको थिएन । दुवै नेताबीचको आजको एकतावार्ता पछि आज नै एकता संयोजन समितिको बैठक बस्नेछ । एकता बैठकबाट सबै विषय टुंगो लगाउने गरी छलफल गर्ने समझदारी भएको नेताहरुले बताएका छन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई नेताबीच समग्र विषयमा भएको छलफल सकारात्मक रहेकाले एकता संयोजनको बैठकमा प्याकेजमै सहमति खोज्ने विषयमा छलफल हुने जानकारी दिनुभयो । बैठकको समय भने तय गरिएको छैन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।