सैघाली खबर
दाङ, ७ फागुन । भर्खरै सम्पन्न राष्ट्रियसभा निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार भई निर्विरोध निर्वाचित चर्चित लोकगायिका तथा समाचारवाचिका कोमल वलीलाई गीतले अझै छोडेको छैन । राजनीतिमा होमिने घोषणासहित रेडियो नेपालको जागिर छोडेकी कोमल राजनीति र कलाकारिताको संक्रमणकालमा नै छिन् यतिबेला ।
राष्ट्रियसभामा निर्वाचित भइसक्दा पनि उनको सुरिलो र भरिलो आवाज अनि ठेंट नेपाली भाकाका गीतहरुको माग भने उत्तिकै छ । त्यसैमाथि आफ्नो जन्मभूमिको कुरा त झनै छुट्टै । त्यसैले गृहजिल्ला दाङमा चलिरहेको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी २०७४”को पाँचौं दिन आगमन भयो कोमल वलीको र महोत्सवमा थपियो रौनक ।
मञ्चमा वरिष्ठ लोकगायिका एवं राष्ट्रियसभा सदस्य कोमल वलीको आगमनसँगै दर्शकस्रोतामा रौनक छायो । गायिका वलीले “कालो कोट कालै छ टोपी, बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा” वोलका गीत गाउँदा महोत्सवको अवलोकन गर्न आएका बालबालिका, तरुनातन्नेरी र बृद्धबृद्धा समेत जोशिएर छमछमी नाचेका थिए ।
यस्तै महोत्सवमा लोक तथा पप गायिका प्रीति आलेको प्रस्तुतिले पनि दर्शकस्रोताको मन जितेको थियो । कार्यक्रममा कृष्ण रेउले, कृष्ण काफ्ले, यादवनाथ योगी, लिटिल मिस नेपाल याङशु श्रेष्ठ, शोभा त्रिपाठी, आदिम केसी, सन्ध्या जोशी, टीका जैशी लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।