अफगानिस्तानबाट छ लाख ३४ हजार अफगानी विस्थापित



एजेन्सी । अफगानिस्तानबाट यस वर्ष सन् २०२१ को अहिलेसम्ममा छ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् । यो सङ्ख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीहरूको भएको सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

यही सेप्टेम्बर १२ सम्मको विवरणअनुसार कुल छ लाख ३४ हजार ८०० भन्दा बढी विस्थापित भएको देखिएको छ । विस्थापित भएका मध्ये दुई लाख ८२ हजार २४६ जनालाई विभिन्न सहयोग पनि प्रदान गरिएको अधिकारीहरूले जनाएका छन् ।

देशमा भइरहेको आन्तरिक द्वन्द्वका कारण उनीहरू विस्थापित भएको जनाइएको छ । तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि देशभन्दा बाहिर विस्थापित भएकाहरूको सङ्ख्यामा पनि एकाएक वृद्धि भएको पाइएको छ । देश बाहिर विस्थापित भएका मध्ये विदेशी नागरिकहरूको सङ्ख्या धेरै रहेको सरकारी अधिकारीहरूको भनाई छ ।

विस्थापित भएका मध्ये २८ हजारभन्दा बढी प्राकृतिक प्रकोपका कारण विस्थापित भएका पाइएको छ । अफगानिस्तानमा विस्थापित भएका र सङ्कटमा परेकाहरूलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घले सबैलाई आह्वान पनि गरेको छ ।
अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन राष्ट्र सङ्घले विदेशी समुदायलाई आग्रह गरेको हो ।

संयुक्त राष्ट्रसङ्घको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए । ती देशले कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोग स्वरूप उपलब्ध गराउने ती देशले जनाएका थिए । त्यस क्रममा उनीहरूले तत्कालका लागि यति रकम दिने बताएका थिए ।

संयुक्त राष्ट्रसङ्घले भने अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै प्रतिबद्धता व्यक्त गरिएको सो रकम तत्कालै उपलब्ध गराउन भनेको छ ।अफगानिस्तानको आर्थिक अवस्था नराम्रोसँग बिग्रिएको र ठुलो मानवीय सङ्कट आउन लागेकोले सहयोगको आवश्यक परेको राष्ट्र सङ्घले जनाएको छ ।

हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराउनुभएको बताइएको थियो । सोमवार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दातासँग संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसले सहयोगको आह्वान गर्नुभएको हो ।

उहाँले अहिले नै अफगानिस्तानमा खाना र महिला तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न लागेको भन्दै सो रकमको आवश्यकता परेको बताउनुभएको थियो । गत महिना सशस्त्र विद्रोहमार्फत अफगानिस्तानको सत्ता तालिबानीले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ ।

अफगानिस्तानका नागरिकलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्