मलेसियामा कम्पनी छोडाउने गिरोह सक्रिय



मलेसियामा नेपाली कामदारलाई ललाई फकाई कम्पनी परिवर्तन गराउने क्रम पुनः बढेको छ । नेपालबाट गएको रोजगारदाता छाडेर भाग्ने नेपाली कामदारको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको विभिन्न स्रोतले बताएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको समयमा रोजगारदाताले समयमा तलब नदिने, विभिन्न बहानामा तलब काट्ने, तलब माग्दा मानसिक तनाव दिने जस्ता समस्याबाट नेपाली कामदार पीडित हुने गरेका छन् ।

कतिपय कामदार रोजगारदाताको विभेद सहन नसकेर बाध्यताले कम्पनी छाडेर भाग्ने तर धेरैजसो कामदार बिचौलियाहरूको अनुचित प्रलोभनको प्रभावमा परेर कम्पनी छाड्ने क्रम बढेको बताइएको छ । बिचौलियाले सुरुमा अन्यत्र आकर्षक रोजगारी दिने भनेर कम्पनी छोडाउने र पछि रोजगारी पाइएन भनी नेपाल पठाउन भन्दै ट्राभल डकुमेन्ट बनाउने बहानामा ठग्ने गरेको स्वदेश फर्किएका नेपालीहरूले बताउँदै आएका छन् ।

मलेसियाको रावाङ भन्ने ठाउँमा रहेको जुली इम्पोर्ट एण्ड एक्स्पोर्टको एसडिएन विएचडी कम्पनी छाडेर भागेका तीन जना नेपाली कामदारलाई मलेसियाको एक कम्पनीले खोजी गर्न स्थानीय प्रहरी चौकीमा उजुरी दर्ता गराएको छ । कृष्णबहादुर बम्जन, अजबलाल राउत र कृति चौधरी नामका नेपाली कामदार कम्पनी छोडेर बेपत्ता भएपछि कम्पनी प्रतिनिधि प्रहरी चौकीमा गएको बताइएको छ । दुई वर्षदेखि कार्यरत उनीहरू सेप्टेम्बर महिनादेखि बेपत्ता भएका थिए ।

उता मलेसियामा कोरोना भाइरस आक्रमणबाट एकै कम्पनीमा कार्यरत दुई जना नेपाली श्रमिकहरूको ५ घण्टाको समयावधिको फरकमा मृत्यु भएको छ । दार्चुला कौटे घर भई मलेसियाको केलागमा रहेको एक सेक्युरिटी कम्पनीमा कार्यरत प्रेम सिंह बडाल र हर्कबहादुर घलेको मृत्यु भएको हो । साभार : प्रकाश भुसाल/मध्यान्ह डेली 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्