अनुमतिबिना छोरीको कपाल काटिदिएपछि बुवाद्वारा विद्यालयविरुद्ध १० लाख डलर क्षतिपूर्तिको मुद्दा



एजेन्सी। संयुक्त राज्य अमेरिकामा विद्यालय गएकी आफ्नी छोरीको कपाल बिना अनुमति काटिदिएको भन्दै एक व्यक्तिले १० लाख डलर क्षतिपूर्ति दाबी गरेका छन् । उनले विद्यालय सञ्चालन गर्ने स्थानीय प्रशासन र दुई कर्मचारीलाई मुद्दा हालेका छन् ।

जिमी होफ्मेयरले मिश्रित वर्णकी आफ्नी छोरीको संवैधानिक अधिकार हनन भएको दाबी गरेका छन् । उनले छोरीलाई मिशिगनस्थित उक्त विद्यालयबाट निकालेका छन् ।

स्थानीय शैक्षिक प्रशासनले गत जुलाई महिनामा एउटा अनुसन्धान गर्दै उक्त विद्यालयकी एक शिक्षिकाले विद्यालयको नीति उल्लङ्घन गरेको तर उनले साम्प्रदायिक पूर्वाग्रहका कारण त्यसो नगरेको निष्कर्ष निकालेको थियो ।

ती शिक्षिकालाई नसिहत दिइएको थियो तर उनलाई उक्त विद्यालयमा काम गर्न रोकिएको थिएन ।

के भएको थियो?
होफ्मेयरले असोसिएटिड प्रेसलाई बताएअनुसार गत एप्रिलमा उनकी छोरी जर्नी घर फर्किँदा उनको टाउकोको एउटा भागमा अधिकांश केश काटिएको थियो ।

उनले विद्यालयको बसमा छोरीका एक सहपाठीले जर्नीको घुम्रिएको लामो केश काट्न कैँची चलाएको बताए ।

बिग्रिएको केश मिलाउन उनलाई हजामका लगिएको भए पनि दुई दिनपछि जर्नी विद्यालयबाट फर्किँदा अर्को भागको केश पनि काटिएको थियो ।

जर्नीका बुवाले त्यस्तो काम अर्को विद्यार्थीले गरेको ठानेका थिए। तर छोरीले भने त्यसो शिक्षिकाले गरेको बताइन् ।

उनले एपीलाई बताएअनुसार ती शिक्षिकाले दुवैतिरको केश बराबर बनाइदिन त्यसो गरेकी थिइन् ।

मुद्दामा के छ?
पश्चिम मिशिगनस्थित एउटा सङ्घीय अदालतमा दायर मुद्दामा माउन्ट प्लीजन्ट पब्लिक स्कूल्स र दुई शिक्षक प्रतिवादी बनाइएको छ ।

उक्त मुद्दामा ती बालिकाको संवैधानिक अधिकार हनन भएको तथा रङ्गभेद, जातीय त्रास, मनोवैज्ञानिक अस्थिरताका लागि नियतवश व्यवहार र आक्रमण गरिएको आरोप लगाइएको छ ।

शैक्षिक प्रशासनले “आफ्ना कर्मचारीहरूलाई राम्रोसँग तालिम, अनुगमन, निर्देशन, अनुशासनमा राख्न असफल” भएको आरोप पनि छ ।

ती आरोपबारे कुनै औपचारिक उत्तर आएको छैन र विद्यालय प्रशासनले कुनै सार्वजनिक प्रतिक्रिया जनाएको छैन । (बीबीसी :नेपाली)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्