आजका पत्रपत्रिका



दसैंमा घर जाने हो ? यसरी हुँदै छ यातायातको व्यवस्थापन

नेपालीहरूको मुख्य पर्व दसैँ नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ ।

दसैँमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी गरिएको हो । दसैँमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा शुक्रवार व्यवसायी र सरकारी प्रतिनिधिबिच यातायात व्यवस्था विभागमा छलफल भएको छ ।

सो छलफलमा विभाग र सार्वजनिक यातायात केन्द्रीय महासङ्घबिच दसैँमा उपत्यकाबाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउने विषयमा सहमति भएको विभागले जनाएको छ । महासङ्घका अध्यक्ष डोलनाथ खनालले आफूहरू अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको बताए ।

महासङ्घमा करिब सय वटा कम्पनी आबद्ध छन् र एक तिहाइ बस उपत्यकाबाहिर लामो रुटमा चल्ने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग भने दसैँमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सहमति हुन बाँकी छ । त्यसका लागि पुनः छलफल गरिने भएको छ ।

सो महासङ्घसँग समेत सहमति गर्ने गरी सरकारी पक्षले आवश्यक गृहकार्य अघि बढाएको छ । कोभिड–१९ को महामारी सुरु हुनु अघि विगतका वर्षहरूमा दसैँ सुरु हुनुभन्दा १५ देखि एक महिना अघि नै अग्रिम टिकट बुकिङ खुलाउने गरिँदै आएको थियो । यो समाचार राजधानी दैनिकमा छ ।

छ दशक कष्ट झेल्ने राष्ट्रवादी नेता

प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका धनी व्यक्तित्व थिए ।

आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले नारायणहिटी दरबारमा बोलाएर तपाईँले नेतृत्व गर्नुभएको आन्दोलन सफल भएको छ, अब तपाईँ प्रधानमन्त्री बन्नुहोस् भन्दा उनले त्यसलाई अस्वीकार गरे । उनको जवाफ थियो, ‘‘यो आन्दोलन म आफैँ प्रधानमन्त्री हुन गरेको होइन ।’’

नेपाली काँग्रेसका कार्यवाहक सभापति नेता कृष्णप्रसाद भट्टराईको नाम प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि उनी नेपाली राजनीतिमा त्यागी नेताका रूपमा उदाए ।

इतिहास पुरुषहरूका विचारमा गणेशमान सिंह नामक पुस्तकमा गोविन्दप्रसाद उपाध्यायको स्मरण छ, ‘‘२०४६ को जनआन्दोलन सफल भएपछि गणेशमान नेपालको हिरो हुनुभयो, त्यसैले उहाँलाई सबैले सर्वमान्य भने । उहाँको त्याग, तपस्या, बलिदान र प्रजातान्त्रिक सङ्घर्षका लागि निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका कुनै पनि विश्व स्तरका राजनेताहरूसँग दाँज्न नसकिने उहाँको उचाइ छ ।’’

विसं १९७२ कात्तिक २४ गते काठमाडौँमा जन्मनुभएका सिंहले १९९७ सालमा स्थापित प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय भए ।

प्रजा परिषद् नेपालको पहिलो राजनीतिक दल हो ।
गणेशमानसँगै जेलमा बसेका हरिकृष्ण श्रेष्ठले भने, ‘‘एक दिन नर शमशेर आएर गणेशमानलाई नीच भाषा प्रयोग गर्दै ‘गणेशमान यो तेरो नरदेवी होइन’ भन्यो ।

गणेशमानको जवाफ थियो, जहाँ गणेशमान हुन्छ, त्यहीँ नरदेवी हो । यो सुन्ने बित्तिकै नर समसेरले एक मुक्का हान्यो, गणेशमानको मुखबाट रगत बग्न थाल्यो । अनि गणेशमानले चिच्याउँदै ‘मर्द होस् भने आइज, सिक्री खोलेर मैदानमा लड्न तयार छु ।’ गणेशमानको जवाफ सुनेपछि नर शमशेर रातो मुख लगाएर हिँडेका थिए ।’’

गणेशमान सिंहका छोरा एवं नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले भने, ‘‘गणेशमानजीले जति कोर्रा सायद कसैले खानु परेन होला, उहाँसँगै जेलमा परेका चार जनालाई वि.सं १९९७ मा राणाहरूले फाँसीको सजाय दिएका थिए ।’’

जेलबाट १२ फिट र २४ फिटका दुुईवटा पर्खाल नाघेर गणेशमान भाग्न सफल भएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

रेल रोकिएको रोकियै

गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ दुई वटा रेल नेपाल भित्र्यायो। नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुसी छायो। तर, किनेको नयाँ रेल पनि थन्किएको एक वर्ष भएको छ। रेल छोपेको पालसमेत च्यातिएर धुजा धुजा भएका छन्। छोपिएको रेल नाङ्गिएको छ। अझै सरकारलाई रेल चलाउने साइत जुरेको छैन।

धनुषाको जनकन्दनी गाउँपालिकाको इनरुवा स्टेसनमा पेलो पाल ओढाएर राखिएको रेल अलपत्र जस्तै बनेको छ। कर्मचारी भर्ना प्रक्रियाको जटिलताका कारण रेलको स्थायी सञ्चालन प्रक्रिया अनिश्चित बनेको हो।

लामो समयपछि नेपाल सरकारको स्वामित्व भएको रेल गत वर्ष भारतको हाजीपुरबाट जयनगर हुँदै जनकपुरधाम कुर्था रेल्वे स्टेसनसम्म पुर्‍याइएको थियो। पहिलो पटक रेल चल्ने कुराले जनकपुरवासीमा पनि खुसीको सीमा थिएन। रेल आएपछि चल्ने र सबैलाई सहज हुने आशा बोकेका सर्वसाधारणले सरकारको प्रशंसा पनि गरे। तर रेल आएको वर्ष दिन बित्दा पनि रेल चल्ने अझै सुरसार छैन। रेल चलाउने आवश्यक भौतिक पूर्वाधार, कर्मचारी र कानुनको अभावमा एक वर्षदेखि भएको रेल पनि थन्क्याउनुपर्ने बाध्यता छ।

निक्कै उत्साह र धूमधामका साथ हर्न बजाएर आफूहरू नै लागेर भित्र्याइएको रेल वर्ष दिनदेखि पालमुनि थन्किएपछि स्थानीय पनि निराश छन्। रेल भित्र्याउने समयमा एक महिनामा कर्मचारी भर्ना गरेर चलाउने भनिए पनि कर्मचारी भर्ना प्रक्रिया पेचिलो बन्दा रेल सञ्चालन अनिश्चित बनेको हो।

‘चार–पाँच वर्षदेखि रेल चल्ने कुरा हुँदै छ तर, कहिले चल्छ अत्तोपत्तो छैन’ जनक नन्द नि गाउँपालिका—४ खजुरीकी सूर्यकला देवी कामतले भनिन्, ‘रेल नचल्दा छौँ।’ उनी भन्छिन् ‘जयनगरबाट हाम्रो घर हुँदै जनकपुरसम्म रेल चल्छ भनिए पनि चलेन। रेल त आयो तर एक दिन पनि चलेन, अहिले थन्किएको छ, कहिले चल्छ ठेगानै छैन’ उनले भनिन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

शिक्षक, जसले घरपायक सरुवा हुन ३ सयलाई खुवाए भोज

सप्तरीको खडक नगरपालिका–३ स्थित आँपको बगैँचामा सोमबार साँझ एकाएक स्थानीयको भीड लाग्न थाल्यो । बाटो हिँड्नेहरू पनि केहीबेर टक्क रोकिन्थे र सोधखोज गरेर अघि बढ्थे । त्यही बेला बगैँचाको पूर्वी भागमा भने मासु पाकिरहेको थियो । न कसैको बिहे न त धार्मिक संस्कार । स्थानीय भने भोजमा जुटिरहेका थिए । भोज आयोजना गर्नुको कारण भने अनौठो छ ।

शोभाकान्त चौधरी पूर्वी पहाड भोजपुरको एक प्राथमिक विद्यालयमा पढाउँथे । गृह जिल्ला सप्तरी सरुवा हुन उनी एक वर्षयता भने ‘हात धोएर’ लागिपरेका थिए । उनले सबैजसो शक्ति लगाए पनि विद्यालय र पालिकाको सहमति पाउन नसक्दा सफल हुन सकिरहेका थिएनन् । अचानक उनले खडग–३ को गरुराहास्थित राष्ट्रिय प्राविमा एउटा दरबन्दी खाली रहेको खबर सुने । तर उक्त दरबन्दीमा आउन अरू तीन जना लबिइङ गरिरहेका रहेछन् । उनीहरूले विद्यालयका प्रधानाध्यापकदेखि वडाध्यक्षसम्मलाई भनसुन गर्न भ्याइसकेका थिए ।

उक्त विद्यालयमा करिब ९० प्रतिशत दलित र बाँकी थारू समुदायका बालबालिका पढ्छन् । गाउँकै शिक्षक आउन चाहँदा प्रधानाध्यापक सुखैर चौधरीले सुरुमा विद्यार्थी कम भएकाले शिक्षक दरबन्दी कटौती भएको बताउँदै आएका थिए । स्रोतका अनुसार शोभाकान्तसहित चार शिक्षकले सरुवा भएर आउने चाहना राखेपछि प्रअ सुखैर पनि मोलमोलाइमा लागे ।

शोभाकान्त त चार महिनायता नै प्रयासरत थिए । अरू प्रतिस्पर्धी आइलागेपछि उनीबारे निर्णय हुन सकेको थिएन । ‘डेढ लाख रुपैयाँ बुझाए मात्र सहमति दिने प्रअबाट प्रस्ताव आएपछि उनी सहमत भए र उक्त रकम दिए,’ स्रोतले भन्यो । अन्य तीन जनालाई रोक्दै प्रअले शोभाकान्तलाई साउन १ देखि विद्यालयमा हाजिर हुन सहमति दिएका हुन् ।

विद्यालयले सहमति दिए पनि पालिकाबाट अनुमति लिनुपर्ने बाध्यता शिक्षक शोभाकान्तसामु आइलाग्यो । नगरपालिकामा पनि उनी लबिइङका लागि लामो समय धाइरहे । आर्थिक कारोबार मिलाएपछि नगरपालिकाले उनलाई साउन २७ गते सहमति दिएको नगरपालिका स्रोतको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत निरज देवले भने कुनै आर्थिक चलखेल नभएको दाबी गरे ।

‘नगरपालिकाको शिक्षा शाखाले विद्यालयबाट सहमति लिएको २७ दिनपछि आर्थिक लाभ लिएर उनलाई विद्यालयमा हाजिर हुन सहमति दिएको हो,’ स्रोतले भन्यो । पालिकाबाट समेत सहमति लिइसकेपछि शोभाकान्तले शिक्षा समन्वय इकाइ सप्तरीमा पनि ‘घूस खुवाएको’ स्थानीयको दाबी छ ।

शिक्षक शोभाकान्त भदौ १ गते विद्यालयमा हाजिर भएपछि स्थानीयले विरोध जनाए । दरबन्दी नै नभएको ठाउँमा कसरी हाजिर गराइयो भनेर उनीहरूले प्रश्न उठाए । त्यसपछि विद्यालय प्रशासनले स्थानीय बासिन्दा समेतलाई सहभागी गराएर बैठक राख्यो ।

‘बैठकमै शोभाकान्तले आफूले विद्यालयलाई डेढ लाख दिएको र अन्यत्र पनि खर्च भएकाले सहज रूपमा काम गर्ने वातावरण मिलाइ दिन हामीसँग आग्रह गरेका थिए,’ एक स्थानीयले भने । उनका अनुसार विद्यालय प्रशासनलाई किन घूस दिएको भन्दै स्थानीयले बैठकमै विरोध गरेका थिए । स्थानीयको आक्रोश मत्थर पार्न प्रअ सुखैरले शिक्षक शोभाकान्तको हाजिर सुरु भइसकेको भन्दै कामकाज गर्न दिन आग्रह गरे । यसबापत शोभाकान्तले स्थानीयलाई भोज खुवाउनु पर्ने सहमति त्यहीं बन्यो ।

यही सहमतिअनुसार सोमबार साँझ आँप बगैँचामा भोज गरिएको हो । भोजमा गरुराहाका सबैजसो उमेरका ३ सयभन्दा धेरै स्थानीय सहभागी थिए । ‘कुखुराको मासु, चिउरा, भुजा खायौं,’ भोजमा सहभागी एक स्थानीयले भने, ‘हेडसर र पालिकाका सरले नगद खाए, हामीले भोज पनि खान नपाउने ?’ आफूहरूले विरोध गर्दा पनि सुनुवाइ नभएपछि भोज खाने सर्तमा सहमति दिएको उनको भनाइ छ ।

प्रअ सुखैर चौधरीले शिक्षक शोभाकान्तलाई भदौ १ बाट हाजिर गराएको स्वीकार गरे पनि थप कुरा गर्न चाहेनन् । यस विषयमा जिल्ला शिक्षा समन्वय इकाइ सप्तरीमा बुझ्दा प्रमुख विजय मण्डल बिदामा रहेको र उनीसँगै कागजात रहेकाले केही बताउन नसकिने शाखा अधिकृत प्रकाश गुरुङले बताए ।  कान्तिपुर दैनिकबाट

१४ वर्षमा बिहे, २८ वर्षमा ७ सन्तान

गोरखा पाङखोलाकी निरमाया चेपाङ अहिले २८ वर्षकी भइन् । १४ वर्षको उमेरमा उनले माया प्रेम गरेर बिहे गरेकी थिइन् । बिहे गरेको १३ वर्षमा अहिले उनी सात सन्तानकी आमा बनेकी छन् ।

निमाया भन्छिन्, ‘५० सालमा जन्मेको हुँ । ६४ सालमा बिहे भयो, १६ वर्षमा ठुलो छोरी जन्मिइन् । ठुलो छोरी अहिले १२ वर्षकी भई,’ उनले भनिन्, ‘अर्को चार वर्षकी भई । माहिली नौ वर्षकी, साइँली छोरी सात वर्षकी भई,’ उनले भनिन् अर्की चार वर्षकी भई । एउटी काखकी छोरी १० महिनाकी छ, ‘छोराको आशामा धेरै सन्तान जन्माएको हो ?’ भन्ने प्रश्नमा उनले सकारात्मक जवाफ दिइन् । अरू बच्चा जन्माउने योजना रहे नरहेको भन्ने उनले केही बोल्न चाहिनन् ।

पहिलो छोरी अस्पतालमा जन्माएकी हुन् । भने बाँकी सबै घरमै जन्माएकी हुन् । ‘सुत्केरी हुँदा दुई, तीन वटा कुखुराको मासु खान पाइन्छ त्यसैले कमजोर त भइँदैन’, निरमाया भन्छिन्, ‘यता त यस्तै चलन हो । सबैका पाँच , सात जना छोराछोरी हुन्छन्’ सानै उमेरमा बिहे गर्ने, कम जन्मान्तरमा धेरै सन्तान जन्माउने गर्दा यहाँका महिलामा पाठेघर खस्ने लगायतका समस्या धेरै देखिने गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्