Banner First

सभापतिको उम्मेदवारीबाट पछाडि हट्दिन : नेता सिंह

By Thaha - Online

September 18, 2021

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनभित्र रहेका केही दल भित्रको आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका छन्। गणेशमान सिंहको २५ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता सिंहले गठबन्धनमा भएका दलहरूबिच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन ढिलाइ भएको बताएका हुन्।

उनले समस्या समाधान गरेर छिटै सरकारले पूर्णता पाउने बताए। उनले कम्युनिस्टहरू असफल हुँदा त्यसको प्रतिफलस्वरुप नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको बताए। काँग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्नेमा उनले विश्वास व्यक्त गरे।

अर्को प्रसङ्गमा सिंहले महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए। उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढी रहेको भन्दै विवाद भएका जिल्लामा विधि र विधानअनुसार समाधान गर्नुपर्ने बताए। ‘पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढी रहेको छ। महाधिवेशन निष्पक्ष तवरले गर्नु पर्दछ। विवाद भएका जिल्लामा विधानअनुसार समाधान गर्न सभापतिलगायत सबै नेताहरू लाग्नुपर्छ,’ सिंहले भने।

उनले १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने बताएका छन्। सिंहले काँग्रेस सँस्थापनइतर समूहबाट साझा उम्मेदवारको सम्भावना अझै टरिन सकेको बताए। ‘साझा उम्मेदवारको सम्भावना अझै सकिएको छैन। त्यसका लागि निरन्तर छलफल भइरहेको छ,’उनले भने, ‘१४औँ महाधिवेशनमा मेरो उम्मेदवारी सभापतिमा हुनेछ। सभापतिका उम्मेदवारीबाट म पछि हट्ने छैन।’